September 29, 2019

हिउँको ढिस्को, जस्ले सगरमाथाबाट आरोहीहरू फर्काए

Possibility of avalanche in Everest
सगरमाथाको दोस्रो क्याम्प भन्दा माथि लोला हिमाल जाने बाटोमा पहाडबाट छुट्टिएर रहेको हिउँको ढिस्को । तस्बिर : जाङ्बुछिरी शेर्पा ।

काठमाडौं । सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणमा गएका आरोहीहरू फर्कन थालेका छन् । केही फर्किसकेका छन् भने केही फर्कने क्रममा छन् । आरोहीहरूका अनुसार असोज १३ गतेसम्ममा सबै फर्किसक्ने छन् ।

फर्कनुको कारण खराब मौसम भनिए पनि अर्को पनि कारण रहेको खुलेको छ । खासमा त्यस क्षेत्रमा जुनसुकै बेला हिम पहिरो जान सक्ने खतरा देखिएपछि आरोहीहरू फर्किएका हुन् ।

लोला हिमाले आरोहण गर्ने बाटोमा पहाडबाट छुट्टिएको अवस्थामा रहेको हिउँको ठुलो ढिस्को देखिएको छ । सगरमाथाकै दोस्रो शिविरबाट लोला हिमालको पनि आरोहण गरिन्छ ।

यो ढिस्को सुरुमा बाटो बनाउँदै अघि बढेका आइसफल डाक्टरहरूले देखेका थिए । उनीहरूले दोस्रो क्याम्पसम्म बाटोसमेत बनाइसकेका छन् । बाटोमा १५ वटा भर्‍याङसमेत जोडेर उनीहरूले आरोहीहरूको लागि बाटो बनाएका थिए ।

‘हामीले त्यो हिउँको ढिस्को देखेपछि खतरा हुने खबर आधार शिविरमा ल्यायौँ’ बाटो बनाउने काममा खटिएको टोलीका सदस्य आइसफल डाक्टर जाङ्बुछिरी शेर्पाले भने, ‘त्यसपछि आरोही, आइसफल डाक्टर र गाइडहरूले सहमति गरेर फर्कने निधो गरेका हौँ ।’

शेर्पाका अनुसार मौसम खराबीका कारण बाटो बनाउने काम ढिलो सुरु भएको थियो । तैपनि दोस्रो क्याम्पसम्म बाटो बनाइसकेका थिए ।

शेर्पा गाइडहरूका अनुसार पहाडबाट छुट्टिएर रहेको त्यही ढिस्कोको मुनीबाट सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि जाने बाटो छ । यस्तो अवस्थामा ठुलो दुर्घटना हुन सक्ने आकलन गरेर आरोहीहरू फर्किएका हुन् ।

यो पनि पढ्नुस्:

– मौसम प्रतिकुल भएपछि सगरमाथा आरोहणमा गएकाहरू फर्किन थाले

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…