October 20, 2019

विदेशी साथी नेपाल पठाउनेलाई सम्मान गरिने, भ्रमण वर्ष र एनआरएनएबीच १७ बुँदे समझदारी

नेपाल भ्रमण वर्ष २०२० को अवधिभर सबैभन्दा धेरै विदेशी साथी नेपाल पठाउने गैर आवासीय व्यक्ति वा संस्थालाई सम्मान गरिने भएको छ । आइतबार भएको नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिचको समझदारी पत्रका उक्त कुरा उल्लेख छ ।

सङ्घको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कुमार पन्त र भ्रमण वर्ष सचिवालयका संयोजक सुरज बैद्यबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा सबैभन्दा बढी विदेशी साथीहरू नेपाल पठाउने व्यक्ति वा सङ्घसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने उल्लेख छ ।

त्यसै गरी एनआरएनएले यस अवधिभर विश्वभर गर्ने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने, सङ्घको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरूमा समन्वयात्मक भूमिका भ्रमण वर्ष सचिवालयले निर्वाह गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

सङ्घले विश्वभर रहेका गैर आवासीय नेपालीहरूलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एन्ड फ्रेन्डस्’ अर्थात् ‘परिवार र साथीहरूसँग नेपालमा बिदा मनाऔँ’ अभियान सञ्चालन गर्ने छ ।

समझदारी अनुसार सङ्घले विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा भ्रमण वर्ष प्रवर्द्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ । नेपाल भ्रमण वर्षको प्रचारका लागि सङ्घले विश्वका प्रमुख सहरहरूमा कार तथा साइकल र्‍याली गर्ने छ । यस्तो प्रचारात्मक कार्यक्रमको लागि सङ्घले नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्नेछ ।

गैर आवासीय नेपालीका विश्वभर रहेका व्यावसायिक फर्महरू तथा होटेल रेस्टुरेन्टहरूमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरू राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरू वितरण गर्ने समझदारी पनि भएको छ । साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरूको सवारी साधनहरूमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारीमा छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…