October 22, 2019

गाभर भ्याली सामुदायिक घरवास (होमस्टेमा) दिनकै पाँच सय पाहुना

  • भेषराज बस्नेत
Gabar Valley Community Homestay
गाबरभ्याली सामुदायिक घरवास ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।

उनका अनुसार, बाँके, बर्दिया मात्र भई कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ का अन्य जिल्लाबाट बढी मात्रामा घरवासमा पाहुना घुम्न आउने गरेका छन् । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित उक्त घरवासमा दैनिक करिब पाँच सय पर्यटक पुग्ने गरेका छन् । सो घरवासमा दशैँका बेलासमेत आन्तरिक पाहुनाको चहलपहल नघटेको चौधरीको भनाइ छ । बाहिरी जिल्लाका साथसाथै पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरवासमा घुम्न आउने गरेका उनले बताए । “यतिबेला बाहिरी जिल्लासँगै बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ”, चौधरीले भने, “दशैँ मान्न गृहजिल्ला आउनुभएकाहरु समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।”

काठमाडौँमा इञ्जिनीयरिङ अध्यापन गर्दै आएका नेपालगञ्ज उपमानगरपालिका–१० का नरेश श्रेष्ठले दशैँ बिदामा घर आएका बेला घरवासको स्वाद चाख्न गाभर पुगेको बताए । काठमाडौँमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दशैं बिदाका बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे ।

दशैँ पर्वमा समेत पाहुनाको चहलपहलले घरवास सञ्चालक उत्साहित भएका अध्यक्ष चौधरी बताउँछन् । दशैँका अवसरमा पोखरा, काठमाडौँलगायतका ठाउँबाट पर्यटन व्यवसायीसमेत गाभर भ्याली घुम्न आएका छन् । यहाँ लगानीसँगै घरवास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको अध्यक्ष चौधरीले बताए । उनका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरवास र दुई होटल थपिएका छन् ।

गाभर भ्याली सामुदायिक घरवास क्षेत्रकै च्यामामा पनि घरवास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरवास सञ्चालनमा ल्याएका छन् । घरवासभन्दा अलि फरक तरिकाले सुविधासम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । “होमस्टे धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, उनले भने, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।”

वि.सं. २०७० मा शुरु भएको गाभर भ्याली घरवास अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको अध्यक्ष चौधरीले बताए । सो घरवासमा शुरूका दिनमा रु २०/३० हजारबाट व्यवसाय शुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ ।

“हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवर्द्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ, यस्ता सवाल उठान गर्ने गाभर भ्याली होमस्टे एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवर्द्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको शुरुआत गर्ने स्थल हो”, चौधरीले भने, “गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।” बाँकेको पहिलो सामुदायिक गाभर भ्याली घरवासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् ।

–रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…