October 22, 2019

पर्यटकलाई लक्षित गरेर पोखराको लेकसाइडबाट काठमाडौं बस सेवा

Tourists Bus from Pokharaपर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७:३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।

दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक दुई सयको हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलोपटक सेवा शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । सेवा सञ्चालनबाट पोखरा घुम्न आउने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवर्द्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

सेवा शुरु भएपछि पर्यटक लेकसाइडसम्म सिधैँ आउन सक्ने भएकाले पनि उनीहरुलाई सहज हुने कम्पनीले जनाएको छ । “भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ”, केसीले भने ।

सो प्रालिले केही समयमा नै अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ । पोखरादेखि काठमाडौँसम्मको भाडादर प्रतिव्यक्ति सात सय रुपैयाँ तोकिएको छ । प्रालिका एक हजार २ सय सवारी साधनले पोखराबाट देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरुमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गर्दै आएका छन् ।

–रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…