आन्तरिक पर्यटकको लागि आकर्षण बन्दै घोराहीको ढोढेनी गाउँ
दाङ । रमणीय तथा चिटिक्क परेको देखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ अहिले जिल्लाको पर्यटकीय गाउँ बनेको छ ।गाउँलाई अहिले त्यहाँ निर्माण गरिएको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) र नमः छु नामक बौद्ध गुम्बाले नै सो गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाएको हो । चारैतिर रमणीय गाउँ सोही गाउँकोबीच भागको अग्लो स्थानमा करीब एक दशक पहिले उक्त गुम्बा निर्माण गरिएको थियो ।
गतवर्ष सो गुम्बा नजिकै एक समाजसेवीको परिवारले आफ्नो लगानीमा त्यहाँ दृश्यावलोकन गर्ने स्तम्भ निर्माण गरिदिएकाले अहिले सो गाउँ पर्यटकीय केन्द्रका रुपमा चिनिन थालेको हो । सो टावरको नाम ‘मनदिल’ दृश्य अवलोकन टावर राखिएको छ ।
घोराही उपमहानगरपालिक—१८ निवासी समाजसेवी मनबहादुर पुन र उनकी श्रीमती दिलमाया र छोरा तथा बुहारीले सो टावर निर्माण गरेका हुन् ।
अहिले सोही मनदिल टावरबाट जिल्लाको दृश्यावलोकन गर्न जानेहरु बढेका छन् । जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने सर्वसाधरण तथा अन्य जिल्लाबाट यस जिल्लामा घोराही आउने पर्यटक पनि सो ठाउँमा पुग्ने गरेका छन् । उक्त टावरबाट जिल्लाको नजिकै रहेको घोराही बजार , छिमेकी जिल्ला रोल्पा जाने बाटो, घोराही उपमहानगरपालिकाका पहाडी गाउँ तथा प्यूठान जिल्लाको केही क्षेत्र समेत अवलोकन गर्न सकिने त्यहाँका कर्मचारी सञ्जीव चौधरीले बताए ।
उनका अनुसार सो टावर चढ्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु ३० को टिकट शुल्क लाग्ने गरेको छ भने एक जनाले १५ मिनेटसम्म टावरमा बसेर अवलोकन गर्ने गरेको उनको भनाइ छ । अहिले दैनिक ८० देखि ९० सम्म आन्तरिक पर्यटक आउने गरेकामा शनिबार र अन्य बिदाको दिन टावरमा आउनेहरुको भीड नै लाग्ने गरेको छ ।
भ्यू टावर हेरेर फर्किंदै गरेका तुलसीपुरका २२ वर्षीय नवीन अधिकारीले आफू पहिलो पटक यस्तो टावरमा चढेर पूरै बजार हेर्न पाउँदा खुशी लागेको बताए । त्यसैगरी लमही नगरपालिका–५ का पूर्णिमा चौधरीले टावरमा चढेर चारैतिर हेर्न पाउँदा आफू रोमाञ्चित भएको बताइन् । बाउन्न फिट अग्लो उक्त टावर संरक्षणका लागि दुई कर्मचारी राखिएका छन् । गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय रुपमा विकास गर्नका लागि आफूले टावर निर्माण गरिदिएको निर्माणकर्ता दिलमायाले बताइन् । रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…