November 13, 2019

फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा : मन्त्री लम्साल

बलेवा– विदेशी मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा । तालैतालको सहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका सहर तथा गाउँको भ्रमण गर्छन् । सुन्दर सहर पोखराको फेवातालले पर्यटकको मन खिच्छ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सन् २०१९ ले पोखरा आउने पर्यटकलाई गण्डकी प्रदेशका अरु पर्यटकीयस्थलमा पुर्‌याउने प्रयत्न गर्नेछ । ‘पोखराको फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ–गाउँमा पुग्छ,’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भने, ‘गाउँमा अथाह सम्भावना छ, हामी पर्यटकलाई गाउँ ल्याएरै छोड्छौँ ।’

बागलुङको ताराखोलामा भुस पोल्ने मेलामा पुगेका मन्त्री लम्सालले अब नेपाल आउने पर्यटक पोखरामा मात्रै नभई गाउँ–गाउँमा पुर्‌याउनु पर्ने बताए । ‘प्रकृति र संस्कृति हेर्न नेपालमा पर्यटक आउँछन्, यसमा हामी धनी छौँ,’ लम्सालले भने, ‘हाम्रो संस्कृति गाउँमा छ, कृत्रिम सहरमा पर्यटक अल्झिएका छन् ।’

कृत्रिम सहरमा अल्झेका पर्यटकलाई गाउँको प्रकृति र संस्कृतिसँग जोड्न गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालयले भरपुर प्रयास गरिरहेको मन्त्री लम्सासले बताए । ‘पर्यटन क्षेत्रलाई चाहिने ऊर्जा एउटा सर्त हो, अब गाउँमा ऊर्जाको अभाव हुँदैन, घरबासमा चाहिने बिजुली गाउँमै निकाल्छौँ, पानीको अभाव भएका ठाउँमा सौर्य ऊर्जा जोड्छौँ,’ लम्साल भने, ‘अब हाम्रो आर्थिक समृद्धि गाउँबाटै हुन्छ ।’

ऐतिहासिक महत्व बोकेका संस्कृति र सम्पदाको संरक्षणमा गण्डकी सरकार सधैँ तत्पर रहेको मन्त्री लम्सालले बताए । ‘हाम्रा पाहुना राख्ने ठाउँ घरबास हो,’ लम्सालले भने, ‘उपयुक्त गाउँहरुमा घरबास सञ्चालन गरेर गण्डकीमा घरबासको सङ्ख्या तीन सय पुर्‌याउँछौँ ।’ कृषि पर्यटन र संकृतिको प्रचारप्रसार नै गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार भएको मन्त्री लम्सालले बताए ।

ताराखोला गाउँपालिकाको अर्गलमा भुस पोल्ने पर्व विशेष रूपमा मनाइन्छ । भुस पोल्ने पर्वका अवसरमा ताराखोला गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा समेत दिएको थियो ।

–रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…