November 14, 2019

बुलबुलेमा दैनिक तीन हजार पर्यटक

बुलबुले ताल

 

वीरेन्द्रनगर– सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यो आर्थिक वर्षमा पर्यटकको संख्या बढेको छ ।

गत साउनयता बुलबुले घुम्न ७० हजार बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । ती मध्ये करीब दुई सय विदेशी पर्यटक छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको संख्या बढेको हो ।

दसैं–तिहारजस्ता चाडपर्वका बेला घुम्न र पिकनिकका लागि पनि पर्यटक आउने गर्छन् । चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो क्षेत्रमा भीड लाग्ने गरेको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यान पुनःनिर्माण गरिनाका साथै तालमा डुंगा पनि सञ्चालन गरिएको छ । मुगुको रारा आएका पर्यटक बुलबुले पनि पुगेर जाने गरेका छन् ।

बुलबुलेमा यतिबेला दैनिक तीन हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि पिकनिक आएका कृष्ण रोकायले आफूलाई बुलबुले राम्रो लागेको बताए । बाँकेबाट घुम्न आएकी सरिता मगरले पहिलेको भन्दा केही परिवर्तन भएको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन सके बाह्य पर्यटकको आकर्षण बढ्ने जानकारी दिइन् ।

पर्यटकको संख्या बढेसँगै समितिको आम्दानीसमेत बढ्न थालेको छ । गत वर्ष दुई लाख ४७ हजार पर्यटक आउँदा ५ लाख आम्दानी भएको समितिका लेखापाल खड्ग रानाले जानकारी दिए ।

सवारी साधन पार्किङ, पिकनिक स्पट, फिल्म सुटिङ, खानेपानीको व्यवस्था, डुंगामा सयरजस्ता सुविधाका कारण बुलबुले तालबाट आम्दानी हुने गरेको हो । उक्त आम्दानी बुलबुलेको संरक्षण, विकास, र व्यवस्थापनमा खर्च हुने उनले बताए ।

– रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…