हमिदको भ्रमणसँगै बंगलादेशी पर्यटक बढ्ने विश्वास
पोखरा– मित्रराष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार गरेको भ्रमण पछि पर्यटकीय नगरी पोखरामा बंगलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गरेका थिए ।
उनले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल, ताललगायतका रमणीय दृश्यावलोकन गरेका थिए । पोखरा हुँदै रुपाकोटसम्मको दृश्यावलोकनले हमिदलाई यहाँका मनोरम दृश्यले लोभ्याएको थियो । उनको आगमनले पोखरामा बंगलादेशी पर्यटकका साथै अन्य राष्ट्रका पाहुना आगमन हुने सम्भावना पनि थपेको छ ।
अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले भारतीय पर्यटकको आगमन बढाएको अनुभवले पनि हमिदको भ्रमणले पनि केही न केही प्रभाव पर्ने विश्वास लिइएको हो ।
सार्क राष्ट्रमध्येको एक बंगलादेश ठूलै जनसङ्ख्या भएका मध्येमा पर्दछ । नेपाल पर्यटन बोर्डको तथ्यांक हेर्दा त्यहाँबाट आउने पर्यटकको संख्या भने कमै छ । पछिल्ला वर्षको तथ्यांक हेर्दा सन् २०१६ मा २३ हजार ४४० पर्यटक बंगलादेशबाट आएको देखिन्छ । त्यस्तै सन् २०१७ मा २९ हजार ६० जना पर्यटक आएका थिए ।
त्यस्तै सन् २०१८ मा २६ हजार ३५५ जना र २०१९ को अक्टोबरसम्म १९ हजार २७९ जना पर्यटक आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।
यो भ्रमणले बंगलादेश र नेपाललाई पर्यटकीयरुपमा जोड्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । पछिल्ला वर्षमा पोखरामा पर्यटन लक्षित पूर्वाधार विकासका क्रम बढिरहेका अवस्थामा अतिविशिष्ट व्यक्तिले भ्रमण गर्न थालेका कारण व्यवसायीमा उत्साह थपेको पर्यटन व्यवसायी एवं होटेल एशिया, लेकसाइडका सञ्चालक धर्म पन्थीले बताए ।
अतिविशिष्ट व्यक्तिको भ्रमणले गुणस्तरीय पर्यटक बढाउनका लागि पनि टेवा पुर्याउने उनले बताए । पोखरामा सन् १९६० देखि नै विदेशी पर्यटकको आगमन बढ्दै गएकामा सन् १९८० को दशकयता क्रमिकरुपमा गति लिएको छ । सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले पोखराको भ्रमण गरेका थिए ।
त्यस्तै सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखराको भ्रमण गर्नुभएको थियो भने सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि यहाँको भ्रमण गरेका थिए । टलक्क टल्कने हिमालको काखमा रहेको फेवातालका साथै यहाँका अन्य ताल सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् । यी स्थलका साथै लेखनाथ क्षेत्रका बेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।
पछिल्ला वर्षयता विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई पोखराले आकर्षित गरेको थियो ।
त्यस्तै २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि पोखराको भ्रमण गरेका थिए । सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवं विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।
उक्त समयमा विदेशी पाहुनाले पोखरालाई भगवान्ले फुर्सदमा बनाएको ठाउँ, महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त स्थानलगायतका उपमा दिनुले यहाँको सौन्दर्यको चर्चा चुल्याएको थियो । आफ्नो भ्रमणका क्रममा हिमाल र तालका रमणीय दृश्यलाई नियाल्दै राष्ट्रपति हमिदले यहाँका सुन्दर दृश्यले आफूलाई अत्यन्त हर्षित तुल्याएको अभिव्यक्ति दिएपछि पुनःएकपटक यहाँको चर्चा विदेशमा समेत बढेको छ ।
हमिदको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक पार्ने लिइएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार पछिल्ला वर्षमा पोखरामा विशिष्ट पाहुनालाई राख्नसक्ने किसिमका होटल तथा पूर्वाधारले गति लिइरहेको छ । अतिविशिष्ट पाहुनालाई राख्नसक्ने किसिमका १०–१२ वटा होटल सञ्चालनमा आइसकेको बताउँदै उनले पोखरा र आसपासमा सामान्यदेखि अत्यन्त सुविधा सम्पन्नसहित झण्डै ७५० को संख्यामा होटल रहेको जानकारी दिए ।
–रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…