पाँच हजार ८० मिटरमा पदयात्रीका लागि आश्रयस्थल निर्माण
काठमाडौँ । कीर्तिमानी आरोही फुर्वा शेर्पा र अस्ट्रियाका पर्वतारोही तथा व्यवसायी जोसेफ आइनवालकरको पहलमा रोल्वालिङ क्षेत्रमा पर्ने टासी लाप्चा पासमा पदयात्री तथा उनीहरूको सहयोगीका लागि आश्रयस्थल निर्माण गरिएको छ ।
डेभिड लामा बिवाक नाम दिइएको उक्त आश्रयस्थल ५ हजार ८० मिटरको उचाइमा निर्माण गरिएको छ । यो संभवता विश्वकै अग्लो ठाउँमा रहेको आश्रयस्थल हो । स्टिल र फलामको भागहरु प्रयोग गरेर बनाइएको यो आश्रयस्थलको सबै भाग अस्ट्रिया मै बनेका हुन्, पानी जहाजबाट ल्याइएका यी अङ्गहरूलाई हेलिकप्टरमा लगेर जोडेका हुन् ।
‘करिब एक लाख युरो जति खर्च भएको छ’ जोसेफले हाइलाइट्स टुरिजमसँग भने, ‘बनाउन भन्दा पनि यहाँ ल्याउन र स्थापना गर्ने ठाउँसम्म पुर्याउन बढी खर्च भयो ।’ उनका अनुसार यसका अङ्गहरूलाई छुट्टाछुट्टै सहयोगीहरूले प्रायोजन गरेका हुन् ।
यो आश्रयस्थलले त्यस क्षेत्रमा जाने पर्यटकको खर्च किफायती गर्नुका साथै सुरक्षित पनि बनाउने छ । यसभित्र सुत्ने, खाने तथा पकाउने ठाउँ बनाइएको छ । अझै भित्र न्यानो बनाउने उपकरणहरू जोड्न बाँकी नै छ ।
रोल्वालिङ क्षेत्रबाट खुम्बु क्षेत्र पुग्ने पासको नाम तासी लाप्चा हो । खुम्बुमा पर्यटनको विकास भएर त्यहाँका मानिसहरूको जीवनस्तर उच्च भए पनि रोल्वालिङ क्षेत्रमा पर्यटनको विकास हुन नसकेका कारण जीवनस्तर पनि उक्सिन सकेको छैन ।
‘मैले त्यस क्षेत्रमा करिब ५/६ वर्ष भारी बोकेँ’ त्यही क्षेत्रको वेदिङका स्थानीय फुर्वाले भने, ‘त्यस क्षेत्रको दुख, कष्ट र जोखिम देखेर नै हामीले यो आश्रयस्थलको कल्पना गरेका हौँ । यसमा जोसेफ र धेरै साथीहरूले सहयोग र सहकार्य गर्नु भएको छ ।’
आश्रयस्थल निर्माण र स्थापनामा खटिएकाहरूका अनुसार यसले रोल्वालिङ क्षेत्रको पर्यटनमा टेवा पुग्नेछ। ‘यसले नेपाल भ्रमण वर्ष २०२० का लागि पनि महत्पूर्ण सन्देश दिन्छ’ जोसेफले भने, ‘यसले सुरक्षाको अनुभूति दिनुका साथै पदयात्रीलाई सजिलो पनि बनाउँछ ।’ यसअघि टेन्टसहितको भारी लिएर जानु पर्ने पदयात्री त्यही आश्रयस्थलमा बसेर जान सक्नेछन् ।
यस आश्रयस्थलको नाम राखिएको डेभिड लामा भने नेपाली बाबु र अष्ट्रिपयाली आमाबाट जन्मेका चर्चित युवा पर्वतारोही थिए । पर्वतारोहणकै क्रममा उनको २९ वर्षको उमेरमा क्यानडामा हिम पहिरोमा परेर मृत्यु भएको थियो । उनलाई नेपाल–अष्ट्रिया मित्रताको प्रतीक स्वरूप यो आश्रयस्थलको नाम ‘डेभिड लामा बिवाक’ नाम दिइएको हो ।
गौरीशङ्कर संरक्षण क्षेत्र र गौरीशङ्कर गाउँपालिकाले बनाउन अनुमति दिएर सहयोग गरेका थिए भने नेपाल बैङ्क लिमिटेडले ढुवानीमा सहयोग गरेको थियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…