November 21, 2019

राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुँदै

ride through Shinduligadi
फाइल तस्बिर : समृद्ध सिन्धुली अभियान ।

काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा भएको छ । संघीय राजधानी काठमाडौंबाट शुक्रबार विहान सुरु हुने साइकलयात्रामा २ सय ४ जना सहभागी हुँदै छन् । त्यसमा १ सय ६७ जना साइकलयात्री हुन् भने बाँकी सहयोगीसहितको टोली रहनेछन् ।

कार्यक्रमको शुभारम्भ पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट गर्ने छन् ।

राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार पुरुष १ सय ४८ जना र महिला १८ जना साइकल यात्री सहभागी हुँदैछन् । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष साइकल यात्रा आयोजना गर्दै आएको छ ।

यस बर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।

अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष घिमिरेले भने, ‘हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।’

संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो । यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुनेछ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्द्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग पनि सहकार्य गरेको छ ।

ride through Shinduligadi
फाइल तस्बिर : समृद्ध सिन्धुली अभियान ।

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्ने बताइएको छ । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने तयारी गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ ।

साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भब्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ । त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् ।

त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथों दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई साँस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग भाबनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष घिमिरेले भने ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्द्धन गर्ने अभियानको योजना छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…