November 21, 2019

विदेशी ज्वाइँको नेपाल कथा

  • खिम घले

उनी पहिलो पटक नेपाल आएका थिए, साथीसँग साथीको घरपरिवारलाई भेट्न । त्यही बेला नेपालका बालबालिकाहरूको अबोधपनले उनलाई यसरी मोहनी लगायो की फर्की फर्की आइरहन मन लाग्न थाल्यो ।

दक्षिण कोरियन किम ह्योङ ह्यो (नेपाली नाम सगरमाथा गुरुङ) को नेपाल यात्रा सन् २००४ बाट सुरु हुन्छ । त्यस बेला उनी कोरियामै भेटिएका एक जना नेपाली भाइसँग नेपाल आएका थिए ।

पहिलो पटक आउँदा उनी नेपालमा एक महिना बसे । यहाँका बालबालिकाहरूसँग रेसम फिरिरि….गीत सिके । अनि कोरियन ‘अरिरङ’ सिकाए । तैपनि हिमालयको देश भनेर चिनिने नेपालका हिमालहरूसँग भने उनको मोह थिएन ।

अनि दुई वर्षपछि उनी झोलाभरि खानेकुरा बोकेर त्यही बालबालिकाहरू भेट्न आए । साथीले हिमाल हेर्न भन्दै नगरकोट पुर्‍याए । पुरै बादल लागेको थियो, हिमाल छर्लङ्गै त देखिएन । नेपाली टोपी जस्तै मात्रा देखे । तर त्यसैले उनलाई मोहित बनाई दियो, अनि उनले सङ्कल्प गरे, ‘मरे मरिन्छ, तर हिमालमा जाने हो ।’

यसअघि उनलाई हिमालप्रति चासो नलाग्नुका कारण भने आरोहीहरूको मृत्यु बारे पत्रपत्रिकाहरूमा आइरहने समाचार थियो । कोरियाका पत्रपत्रिकाहरूमा आरोहणमा मृत्यु भएकाहरूको समाचार छापिन्थे । लाग्थ्यो, त्यो मर्ने ठाउँमा पनि के जानु? त्यही नगरकोटबाट देखिएको दृश्यले उनको मन परिवर्तन गराई दियो । उनी ट्रेकिङका पारखी बने ।

सन् २००६ सालमै उनले नेपालको चर्चित अन्नपूर्ण सर्किट पुरा गरे । थ्रोंङ–ला पार गरे । सुरुमा बालबालिकाहरूको मायाले नेपाल आउन थालेका किम अव ट्रेकिङका लागि पनि आउन थाले । नेपाली गाउँघरहरू पुग्दा उनी आफू जन्मे हुर्केको कोरियाको पुरानो गाउँ पुगेको अनुभूति गर्थे । भन्छन्, ‘पुरानो गाउँको याद ताजा हुन्थ्यो, मेरो गाउँकै अन्टी, दिदी, भाइबहिनीहरू भेटे जस्तो लाग्छ ।’

उनले धेरै ठाउँ घुमे, नेपालका । पटक पटक नेपाल आएर सगरमाथा आधार शिविरको पदयात्रा गरे, गोसाईंकुण्ड हुँदै लाङटाङ भ्याली पुगे, तराईमा विराटनगरदेखि जनकपुरसम्म घुमेका छन्, पश्चिममा डडेल्धुरा र पूर्वमा काँकडभिट्टा–इलाम पुगेका छन् । ओखलढुङ्गा त उनको ससुराली नै बन्यो । नजाने कुरै भएन । उनले नेपाली चेली मञ्जु गुरुङसँग बिहे गरेपछि नेपाल र नेपालीसँगको भावनात्मक सम्बन्ध पारिवारिक बन्यो ।

उनी लुम्बिनी आठ पटक पुगेका छन् । सुरुमा आफै घुम्न गए । पछि आफ्ना कोरियाली साथीहरूलाई घुमाउन गए । एक जना लामाले उनलाई लुम्बिनीमा सोधेछन्, ‘तपाईँ लामा हो?’ उनको जबाफ थियो, ‘होइन, म घुम्न र घुमाउन आएको हुँ ।’ लामाले भनेछन्, ‘मेरो विचारमा तपाईँ सबैभन्दा ठुलो लामा हो, किन भने संसारमा धेरै लामा छन्, जो एक पटक पनि लुम्बिनी आएका छैनन् तपाईँ आठ पटक आउनु भयो ।’

उनले नेपाल घुमेका मात्र छैनन् । यो अवधिमा नेपालका बारेमा कोरियन भाषामा प्रशस्तै लेखेका छन् । करिब ३ हजार लेख रचना नेपालसँग सम्बन्धित लखेर पत्रपत्रिकाहरूमा छपाएको बताउँछन् । उनले अन्नपूर्ण यात्रालाई समेटेर एउटा यात्रा पुस्तक पनि लेखे । त्यो पुस्तक छापे बापत प्रकाशकले नेपाली कविहरूको एउटा समूहलाई कोरिया आउनका लागि स्पोन्सर गरिदिए ।

जनस्तरका राजदूत

South Korean Kim Hyong Hyo (Sagarmatha Gurung) loves Nepal
राष्ट्रकवि माधव घिमिरेसँग किम ।

किमलाई कसैले पनि केही भनेका छैनन् । त्यसप्रति उनको चासो पनि छैन । तर उनले जे गरिरहेका छन्, नेपाल–कोरियाबीच जनस्तरमा सम्बन्ध गाँस्न भने अनुकरणीय छ । उनी कोरियामै हुँदा नेपालीहरूसँग भेटघाट गरिरहन्थे । दुई कुराले उनलाई पिरोल्थ्यो, एउटा त्यहाँ रहेका नेपालीहरूमा रहेको हीनताबोध र अर्को नेपाल बारे कोरियनहरूको बुझाई ।

उनी भेटेका नेपालीहरूलाई भन्थे, ‘तपाईँ त हिमाल भएको देशबाट आएको मान्छे । आमा दाब्लम् जस्तो बस्नु पर्छ, ढुम्कासँग । कमजोर सोच्ने होइन ।’ उनकै भनाइमा आमा दाब्लम् हिमाल जसरी बसेको छ, त्यो पोजिसन गर्विलो छ । अनि अर्को कुरा त्यस बेला नेपालबारे कोरियनले चिनेको हिमाल र गरिबी थियो । अहिले बुद्ध जन्मेको देश भनेर पनि चिन्छन् ।

अनि उनलाई लाग्यो नेपालको विविध पक्ष बारे कोरियामा जानकारी गराउन केही गर्नु पर्छ । एक दिन उनी कोरियाका ठुलो कला सङ्ग्रहालयमा घुम्न गएका थिए, एक जना चित्रकार साथीसँग । उनी अहिले कारिया आर्टिस् एसोसिएसनका अध्यक्ष पनि भएका छन् । त्यहाँ उनले नेपालको चित्र त देखे । तर ज्यादै सानो । उनलाई रिस उठ्यो । स्ट्याण्डर्ड साइजको चित्रकला प्रदर्शनी गर्ने कुरा गरे । ती चित्रकारले पनि सहयोगको बचन दिए ।

अनि नेपाल आए । यो २००६ सालको कुरा हो । त्यस बेला फाइनआर्टका विद्यार्थी थिए, नरबहादुर बिके । उनीसँग मिलेर उनले शशि शाहलगायतका कलाकारहरूको चित्रकला जम्मा गरे । मिलन श्रेष्ठसँग मिलेर उनले हस्तकलाको पनि प्रदर्शनी गर्ने योजना बनाए । नेपाली चित्रकला र हस्तकलाले कोरियनको ध्यान तान्यो । लाग्यो, सीमित रूपमै भने पनि नेपालको कला र संस्कृतिबारे जानकारी दिन पाएँ ।

किम कवि हुन् । स्वाभाविक रूपमा उनलाई साहित्यमा पनि नेपाल र कोरियाको सम्बन्ध हुने गरी केही काम गर्न मन थियो तर भाषा ठुलो समस्याको रूपमा रह्यो । नेपाली भाषा नै नजान्ने भएपछि कसरी त्यो काम गर्नु ? नेपाली सिके र बोल्न सक्ने भए । धेरैले ‘तिम्रो नेपाली राम्रो छ’ भन्दै फुर्क्याउथे । उनलाई पनि लाग्यो अव साहित्यमा पनि काम गर्नुपर्छ ।

माने साहित्य महोत्सवमा गएका थिए । त्यो कोरियामा गिनेचुनेको साहित्य मेला हो । उनले त्यहाँ एक जना प्रकाशकलाई भेटे । प्रकाशकसँग उनको डिल भयो, ‘अन्नपूर्ण यात्रा सम्बन्धी पुस्तक प्रकाशित गर्ने, त्यसबापत नेपाली साहित्यकारहरूलाई महोत्सवमा आउन खर्च हालिदिनु पर्ने ।’

हो, त्यही डिल अनुसार उनले पुस्तकको पैसा लिएनन् । एउटा साहित्य महोत्सवमा भाग लिनका लागि दिनेश अधिकारी, मञ्जुल र पद्मप्रसाद देवकोटालाई ती प्रकाशकले स्पोन्सर गरिदिए । यसरी उनले नेपाली साहित्यकार र कोरियाली साहित्यकारहरुबीच परिचयको मौका जुटाउन सके । त्यसपछि पनि उनले यो क्रमलाई निरन्तरता दिइरहेका छन् । यसमा उनले आफैले पनि खर्च हालेका छन्, कति त चिनेकाहरूबाट स्पोन्सर गराउँछन् ।

उनले राष्ट्रकवि माधव घिमिरेको गौरी खण्डकाव्यलाई कोरियन भाषामा अनुवाद गरेर प्रकाशित गरे । कोरियन कविहरूको एक सय कविता पनि नेपालीमा अनुवाद गरेर प्रकाशित गरेका छन् । दुवै किताबको विमोचन प्रज्ञा प्रतिष्ठानमा गरे । अहिले उनी मञ्जुलको ‘ब्रह्माण्ड कविको घर’ नामक पुस्तकको कोरियन भाषामा अनुवाद गरिएको पुस्तक विमोचनका लागि नेपाल आएका हुन् । उनले भने, ‘यो चोटि मेरो नेपाल बसाई ज्यादै थोरै छ, तीन दिन बस्छु ।’ कोरियामा सुरु गरेको रेस्टुरेन्ट कारण उनी छिटो फर्कन लागेका हुन् ।

धेरैलाई लाग्न सक्ला । यी सबै काम गर्नका लागि उनले ठुलो फाउन्डेसन वा संस्था खोलेका होलान् । होइन, यसमा अधिकांश रकम आफै हाल्छन् । केही साथीभाइहरूसँग सहयोग पनि जुटाऊँ छन् ।

भूकम्पमा सहयोग

नेपालमा भूकम्प जाँदा किम दम्पती कोरियामै थिए । एक दिन उनले सुरक्षाकर्मीले सानो बच्चा बोकेकी महिलालाई एक पिस पाउरोटी दिँदै गरेको दृश्य देखे । उनको मन छोयो । उनले आफ्ना साथीहरूलाई सहयोगको अपिल गरे । सुरुमा सानोतिनो सहयोग गर्न सकिएला की भन्ने सोचेका थिए । तर सहयोग राम्रै जुट्यो । सुरुमा उनीहरूले सहयोग रकम सरकार वा कुनै संस्थालाई हस्तान्तरण गर्ने सोचेका थिए । तर, त्यसमा भएका बेथितिहरू सुनिन थाले ।

अनि कोरियामै पाउरोटी बनाउने मेसिन किने र नेपाल आए । उनीहरूले पाउरोटी बनाएर बाँड्न थाले । धेरै ठाउँहरूमा आफै पाउरोटी बनाएर बाँडे । एक दिन साँखुमा गएर कुखुरा नै बाँडे । ‘म धनी मान्छे होइन, गरिखाने मान्छे हो, हामीले पनि दुखै गरेर सानोतिनो पैसा जम्मा गर्ने हो’ उनी भन्छन्, ‘त्यो पैसा खेर नजाओस्, वास्तविक पीडितसम्म राहत पुगोस् भन्ने लाग्छ ।’

रहर थरीथरीका

South Korean Kim Hyong Hyo (Sagarmatha Gurung) loves Nepal उनीसँग नेपाल जोडिएका धेरै रहरहरू छन् । खासमा नेपालका लागि केही गर्न सके उनलाई आत्मसन्तुष्टि हुने बताउँछन् । त्यसैले नेपालका धेरै भाग घुम्ने र त्यसका बारे लेखेर किताबहरू प्रकाशित गर्ने उनलाई रहर छ । उनी अहिले आफ्नो रेस्टुरेन्टलाई अलि ठिक बनाउने कोसिस गर्दै छन्, जीवन अलि सजिलो भएपछि घुम्ने र लेख्ने काम गर्ने योजना बनाएका छन् । उनी भन्छन्, ‘अर्को एउटा नितान्त निजी रहर पनि छ ।’

हामीले त्यो निजी रहर खोतल्यौँ । त्यो रहेछ श्रीमतीसँग नेपालमा आफूले पहिले घुमेका क्षेत्रहरू घुम्ने । ‘म पहिला जहाँ जहाँ घुमेँ त्यहाँका मान्छे र ठाउँहरू मेरो स्मृतिमा ताजा छन्, गेस्ट हाउसका दिदी, गाउँका बहिनीहरू’ उनी भन्छन्, ‘एक पटक फेरी घुमेर मेरी श्रीमतीलाई चिनाउने रहर छ ।’

त्यसो त उनी घुम्नका लागि घुम्दै हिँड्ने पर्यटक होइनन् । उनी कवि हुन्, संवेदनशील छन् । उनी जहाँ पुग्यो त्यही घुलमिल हुन्छन् । त्यहाँ संस्कृति र इतिहास बारे जान्न चाहन्छन् । त्यसैले उनी आफू हिँडेका धेरै ठाउँमा मान्छेहरूसँग परिचित हुन्छन् ।

नाम मेरो सगरमाथा

सन् २००८ मा उनी सगरमाथा आधार शिव पदयात्रामा गएका थिए । यात्रामा चित्रकार विके श्रेष्ठ पनि थिए । फर्केर आएपछि कवि मञ्जुलले राष्ट्रकवि माधव घिमिरे कहाँ भेट्न लगे । उनले सगरमाथा शीर्षकमा कविता लेखेका थिए । मञ्जुलले राष्ट्र कवि माधव घिमिरेलाई किमको सगरमाथा शीर्षकको कविता सुनाइदिए ।

कविता सुनेपछि घिमिरे यति भावविभोर भए की किमलाई तानेर गाला मुसार्न थाले । मेरो ठुलो छोरा किन यति ढिलो आउनु भएको भन्दै अबदेखि सगरमाथा नाम भनिदिए । उनले त्यो नाम स्वीकार गरे । पछि मञ्जुसँग बिहे गरेपछि उनले त्यसमा गुरुङ थपे । ‘मलाई कसैले सगरमाथा गुरुङ भन्दा खुसी लाग्छ’ किम भन्छन् ।

त्यस बेला नेपाल पर्यटन बोर्डले पहिलो पटक सगरमाथा दिवस मनाएका थिए । त्यसमा किमको फोटो र बिके श्रेष्ठले बनाएका चित्रकलाहरू पनि प्रदर्शनी गरिएको थियो । उनले ती तस्बिरहरूपछि कोरियामा पनि प्रदर्शनी गरे ।

अनि बिहे भयो

उनी चित्रकला प्रदर्शनीको तयारीमा थिए । चित्रकलाहरू जम्मा भयो । पत्रकार सम्मेलनको आयोजना गरियो । भोलि पल्ट पत्रपत्रिकाहरूमा पत्रकार सम्मेलनको समाचार प्रकाशित भयो । उनी नेपाली पढ्न नजान्ने । नरबहादुरले पढेर सुनाइ दिए । त्यसमध्ये एउटा समाचार मन पर्‍यो । अनि कफी खानु पर्‍यो लेख्ने मान्छे बोलाइ दिनुस् न भने ।

South Korean Kim Hyong Hyo (Sagarmatha Gurung) loves Nepal मञ्जु गुरुङ आइपुगिन् किमको कफी अफरमा । उनी त्यस बेला समाचार पत्रमा काम गर्थिन् । कफी खाइन् सामान्य कुराकानी भयो, मञ्जु निस्किइन् । त्यसपछि पनि किम नेपाल आइ रहन्थे । आएका बेला साथीहरूसँगै मञ्जुसँग पनि भेटेर चिया खाने काम चलिरहेकै थियो । तर राम्रोसँग कुरा कहिल्यै हुन नपाउने । चिया खाएपछि मञ्जु हिडिहल्थिन् । पत्रकार न पर्‍यो, सधैँको चटारो ।

सन् २००८ मा उनले नेपाल आएर काम गर्ने सुरले कोइका (कोरिया सरकारको अन्तर्राष्ट्रिय सहयोग संस्था) मा आवेदन दिए । उनी नेपालमा परेनन् । यूक्रेन पुगे, दुई वर्षका लागि । त्यही बेला हो रे उनले आफ्नो जीवन बारे सोचेको । उनले अझै बिहे गरेका थिएनन् । एक्लै मन लागेको ठाउँहरूमा भौतारिंदै मन लागेको काम गरेर हिँडिरहेका थिए । कोइकाको काम सकिए पछि उनी दुई वर्षपछि नेपाल आए, सन् २०१० मा ।

उनलाई लाग्यो अव बिहे गरेर जीवन अलि व्यवस्थित बनाउनु पर्ला । तैपनि निश्चित केही थिएन । समय मिलेपछि नेपाल आएका उनी एक दिन नेपाली साथीहरुसँगको जमघटमा थिए । त्यसैमा मञ्जु पनि थिइन् । कोरियनसँगै बिहे गरेकी अर्की पत्रकार बाला राई पनि थिइन् । कुरै कुरामा बालाले तपाइहरू दुई जना बिहे गर्दा जोडी सुहाउँथ्यो भनी दिए । किमलाई कताकति लागि रहेको त थियो । कुरा गर्न सकेका थिएनन् । मौका छोपेर भनिदिए, ‘गर्न पाए राम्रै हुन्थ्यो ।’

‘मैले भन्न नसकेको कुरा बालाजीले भनी दिइन्’ किम भन्छन्, ‘त्यसैले हाम्रो बिहे बालाजीले गराएको भन्छु ।’ किमको पनि प्रस्ताव आएपछि मञ्जुले परिवारसँग कुरा गरिन् । ‘यो लेखान्त पनि होला, त्यसअघिसम्म हामी साथी मात्र थियौँ, बालाजीले कोरियामा पनि सँगै हुने भन्न थालिन्, मलाई पनि के भयो र मान्छे सबै एकै हुन् भन्ने लाग्न थाल्यो, परिवारले पनि स्वीकृति दियो’ मञ्जु भन्छिन्, ‘हामीले बिहे गर्ने निधो गर्यौं ।’

सन् २०१२ मा बिहे गरेर मञ्जु पनि कोरिया पुगिन् । नेपाली रेस्टुरेन्ट चलाउन थालेका छन् । उनीहरूको क्षेत्रका नेपालीहरू जमघट हुने थलोको बनेको छ ।

कोरियामा नेपाली माइती

South Korean Kim Hyong Hyo (Sagarmatha Gurung) loves Nepal नेपालमा कोरियनसँग बिहे गरेर नेपाली चेलीहरूले धेरै दुख पाएको, घरेलु हिंसामा परेको धेरै कुराहरू आइरहन्छन् । हामीलाई पनि कस्तो अवस्था होला भनेर खुल्दुली लागि रहेको थियो । त्यही प्रश्न सोध्यौँ, किम र मञ्जुलाई ।

मञ्जुको भनाइमा कोरिया पुग्नु अघि उनले पनि त्यही खालको समाचारहरू पढेकी थिइन् । लागेको थियो, सबै नेपाली महिलाहरू कोरियनसँग बिहे गरेर दुखै पाएका छन् । जानु अघि उनले उनीहरूको लागि पनि केही गर्न सकिन्छ की भनेर सोचेकी पनि थिइन् । सन् २०१२ मा कोरिया पुगेपछि उनले सोधखोज गरिन् पनि । तर भेटिनन् त्यसरी यहाँ भनिए जस्तो दुख पाएका नेपाली दिदीबहिनीहरू ।

मञ्जुको विचारमा खास गरेर त्यो संस्कृतिमा रहेको फरकपनले गर्दा भएको समस्या रहेछ । नपरेका होइनन्, कोही कोही घरेलु हिंसामा पनि परेका रहेछन् । तर, पछि उनीहरू आफै मिलेर हाँशीखुशी बसिरहेको पाइन् । ‘सुरुमा समस्या भएपछि नेपाली मिडियामा समाचार आयो, उनीहरूको विवाद सकियो, मिलेर बस्न थाले, त्यो चाहिँ आएन, अनि नेपालीको धारणै अर्को बन्यो’ मञ्जु भन्छिन् ।

उनले त्यहाँ पुगेपछि बिहे गरेर आएका धेरैलाई भेटिन् । कतिपयले मिडियामा आएको समाचारले नकारात्मक सन्देश दिएको गुनासो समेत गरे । ‘समस्या कहाँ छैन र त्यहाँ पनि छन्, तर यहाँ सोचिए जस्तो मैले पाइनन्’ उनी भन्छिन्, ‘त्यहाँ पनि मिडियाले कुरा उठाउँछ महिला अधिकारकर्मीहरू छन्, मानव अधिकारको कुरा बलियो छ ।’

अहिले किम र मञ्जुले कोही समस्यामा परेको रहेछ भने उनीहरूलाई सहयोग गर्ने पनि गरिरहेका छन् । खासमा उनीहरूले समस्यामा परेमा ‘माइती आउनु’ भन्ने शब्द प्रयोग गर्ने गरेको बताए । तर अहिलेसम्म ठुलै समस्या परेको भेटेका छैनन् । सानातिना समस्यामा परेकाहरूलाई उनीहरूले सघाएका पनि छन् ।

कोरियामा भियतनामी, फिलिपिनो र चिनियाँको तुलनामा नेपाली बुहारी ज्यादै सानो सङ्ख्यामा छ । अहिले उनीहरूले आफ्नो क्षेत्रमा भेटघाट गरेर बेला बेला नेपाली चाडपर्व मनाउने काम पनि गर्छन् । किम कवि भएको र यस्ता क्रस कल्चर जोडीमा राम्रै छाप बनाएकोले पनि बेला बेला उनीहरूको बारेमा मिडियामा आइरहन्छ । कसैले अन्तर्वार्ता लिन्छ, कसैले कुराकानीको आधारमा लेख बनाउँछ । उनीहरूको जीवनलाई समेटेर डकुमेन्ट्री पनि बनेको छ । अहिले त्यहाँको पत्रिकाको अनुरोधमा मञ्जुले लेखहरू पनि लेख्न थालेका छन्, कोरियाको पत्रिकामा । नेपालीमा लेखेको लेख किमले कोरियन भाषामा अनुवाद गरिदिन्छन् । मञ्जुले कोरियामा आफ्ना अनुभवहरू लेखका रूपमा उतार्छिन् । नेपालका सन्दर्भहरू पनि जोड्छिन् । मञ्जु भन्छिन्, ‘यी लेखहरूबाट पनि कोरियामा नेपालका बारेमा धेरथोर बुझ्ने मौका मिल्छ ।’

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…