गढीमाईमा भक्तजनको घुइँचो, बलिको साइत मंसिर १७ र १८ मा
वीरगञ्ज– विश्वमै सबभन्दा बढी बलि दिने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरस्थित ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत सुरु भएको छ ।
मंसिर १ देखि सुरु भएको प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक ५ वर्षमा लाग्ने धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । राँगा, खसीबोका बली हेर्नमात्रै पनि धेरै पर्यटक आउने गरेका छन् ।
गढीमाई मेलाको मुख्य आकर्षण बलि हो । यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिन आउनेहरुको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ ।
मंसिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत भए पनि अहिलेदेखि नै भक्तजन तथा व्यापारीहरु आउने क्रम सुरु भएको छ ।
विश्वमा सबभन्दा बढी पशुबलि दिने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहित गर्न सरोकारवालालाई आदेश दिएपछि यो प्रथालाई रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भए पछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ ।
मेलामा दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुर गरी पाँच प्रवेशद्वार राखिएका छन् । सुरक्षा व्यवस्थापन गर्न मेला परिसरमा करिब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।
मेलालाई व्यवस्थित बनाउन कलैया, मझरिया, मधवन, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायतका गाउँमा १० हजार जति स्टल रहनेछन् । मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको छ।
पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट तीन हजारको दरले रकम लिएर स्टल राख्न दिने गरेको छ । देशविदेशबाट मेला भर्न आउनेका लागि ६ सय भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा विश्रामस्थल राखिनेछ ।
यसैगरी गढीमाईमा आउने पशुहरु स्वस्थ छ वा छैन भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बाराको कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखिएको प्रमुख डा हरेराम यादवले बताए ।
पञ्चवर्षीय मेला मूल समितिले टाढा–टाढाबाट आउने भक्तजनहरुले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत व्यवस्था गरिएको छ । मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा छ ।
–रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…