आज बालाचतुर्दशी, पशुपतिलगायत देशभरका शिवालयमा सतबीज छर्नेको घुइँचो
काठमाडौं– मंसिर कृष्ण चतुर्दशीका दिन सोमबार बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा सतबीज छर्न भक्तजनको लर्को छ ।आइतबारदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै नदीमा स्नान गरी सतबीज छर्न शुरु गरेका हुन् ।
बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।
हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १ सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न सतबीजका रूपमा छर्ने गरेका छन् ।
बालाचतुर्दशीमा एक गेडा सतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा सतबीजका रुपमा छर्ने गरिन्छ ।
मंसिर कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । सतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि सतबीज छर्ने भक्तजनको भीड लागेको छ ।
गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो । यस वर्ष त्रिपालमूनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उनले बताए। यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो ।
यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङ्ग्रिने गरेका थिए ।
पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ ।
पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा सतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भीड छ । सतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ ।
चितवन– पवित्र तीर्थस्थल देवघाट धाममा सतबीज छर्नेको घुइँचो लागेको छ । रातभर जाग्राम बसेर तीर्थालुले दीपप्रज्वलन गरी सोमबार सतबीज छरेका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो ।
समितिले टेण्ट र त्रिपाल लगाएको भए पनि ती स्थानमा नअटेपछि भक्तजनले खुल्ला आकासमूनि जाग्राम बसी दीपप्रज्वलन गरेका थिए । रातिदेखि बस्ने र बिहानै देवघाट पुग्नेको भीड लागेको छ । सडक र ढलानबाहेकका स्थानमा सत्बीज छर्न समितिले आग्रह गरेको छ ।
सतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै सत्बीज छर्ने चलन छ ।
भद्रपुर– झापाको प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधाम र शिवसताक्षी धाममा पनि सतबीज छर्नेको घुइँचो लागेको छ ।
महाभारतकालमा अर्जुनले वाण हानी धरतीबाट जलधारा निकालेर गाईको प्यास मेटाएको पवित्रस्थल मानिँदै आएको अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथसमेत भनिन्छ ।
सतबीज छर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङसँगै भारतको दार्जिलिङ, आसाम र सिक्किमदेखि आएका हजारौँ हिन्दू भक्तजन आइतबार बेलुकादेखि नै धाममा जाग्राम बसेको धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।
सतबीज छर्न बिहानैदेखि भेला भएका भक्तजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने स्वयंसेवकसमेत खटिएका छन् । सताक्षीधामलगायत दर्जनौँ शिवालयमा आज शतबीज छर्ने घुइँचो लागेको छ । सयवटा आँखा भएकी देवीको मन्दिरको रुपमा सताक्षीधाम परिचित छ ।
–रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…