रुसका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं— रूस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणापत्र सोमबार समकक्षी रूसी विदेशमन्त्री सेरग्रे लाभ्रोभलाई उनले हस्तान्तरण गरे।
मस्कोस्थित राजदूतावास र परराष्ट्र मन्त्रालयले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणापत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गरेका हुन्। ज्ञवालीले समकक्षी लाभ्रोभलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन्। दुवैले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए। दुवै मन्त्रीले दुई मुलुकबीच न्याय, सांसद र व्यापारसहित उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले रूसलाई असल मित्रको संज्ञा दिँदै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी गर्न पनि आग्रह गरेका थिए।
दुई मुलुकबीचमा लगानी, व्यापार, पर्यटन, शिक्षा, ऊर्जा, पूर्वाधार विकास, संस्कृति र जनस्तरमा सम्बन्ध स्थापना गर्नुपर्नेमा दुवै मन्त्री सहमत भएको मस्कोस्थित राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…