November 26, 2019

भ्रमण वर्षको शुभारम्भ काठमाडौंमा रंगशाला र सातै प्रदेशबाट

सिंहदरबारमा सोमबार बसेको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको पाँचौँ बैठकमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलगायत प्रदेशमन्त्री, सुरक्षा निकायका प्रमुख, सरकारी संस्थाका प्रमुखलागायत । तस्बिर : रोशन सापकोटा/रासस

काठमाडौ‌ं : नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौंसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । जनवरी १ तारिख (पुस १६)मा दशरथ रङ्गशाला र सातवटै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरिने भएको हो ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डडयन मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन जनवरी १ मा त्रिपुरेश्वरस्थित रंगशालाबाट गर्ने भएको छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले सोमबार नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै विशेष समारोहका साथ कार्यक्रम उद्घाटन गर्ने जानकारी दिएका हुन । ७ दर्जन मूल आयोजक समिति सदस्य, विभिन्न प्रदेशका मूख्यमन्त्री तथा प्रदेश पर्यटन मन्त्री लगायतको उपस्थितीमा भएको बैठकले विभिन्न निर्णहरु पनि गरेको छ ।

नेपाल भ्रमण वर्ष देशको महाअभियान भएकोले यसको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको मन्त्री भट्टराईले बताए । भ्रमण वर्षको उद्घाटन कार्यक्रम तयारीका लागि मन्त्री भट्टराईले निर्देशन दिएका छन् । भ्रमण वर्ष मूल आयोजक समितिले पनि विभिन्न निर्णय गरेको छ ।

भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको गर्ने छिन् । उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन रहने बैठकले निर्णय गरेको छ । मूल आयोजक समिति सदस्यहरुलाई एक साता भित्र आफूले के–के गर्ने भन्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने बैठकले निर्णय गरेको छ ।

विदेश जाने विद्यार्थी वा कामदार लगायतलाई भ्रमण वर्षको प्रचार हुने सामाग्री उपलब्ध गराउने र पढ्न जाने भए कलेजका प्रमुखलाई नेपालको केही उपहार र कामदार भए कार्यरत कम्पनीको प्रमुखलाई उपहार दिनुपर्ने निर्णय समेत गरेको छ ।

सातवटै प्रदेश सभाले पनि पर्यटन वर्षको उद्घाटनको व्यवस्था मिलाएर १५ दिनभित्र सचिवालयमा जानकारी पठाउनु पर्नेछ । नेपाल भित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले दुबईको बुर्ज खलिफा लगायत विश्वको गगनचुम्नी भवनमा नेपाल भ्रमण वर्षको लोगो देखाउन एनआरएन र नेपाली राजदूताबाससँग समन्वय गर्ने र भ्रमण वर्षको आधिकारिक गीतमार्फत भ्रमण वर्षको प्रवर्द्धन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा पर्यटककालागि धेरै भौतिक सुविधाहरु निर्माण गर्नुपर्ने चुनौति भएको बताए । हवाई भाडा महंगो भएका कारण पर्यटन मन्त्रीमार्फत केही हुनसक्ने भए त्यसतर्फ पनि ध्यान दिन अनुरोध पनि गरे। खप्तडदेखि साइपाल हिमाललगायत थुप्रै क्षेत्र भए पनि बाटोघाटो नभएका कारण यहाँ पर्यटक भने जति ल्याउन नसकिएको उनले जानकारी दिए । पदमार्ग कै लागि भए पनि पहल गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पर्यटनसँग सम्बन्धित कार्यक्रम आफूहरुले सञ्चालन गरिसकेको भन्दै भ्रमण वर्ष लक्षित कार्यक्रम संघीय सरकारको समन्वयमा गरिने बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरराष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि दुई मिनेट भ्रमण वर्षबारे जिङ्गल बनाइने तयारी गरिएको बताए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले भ्रमणलाई लक्ष्य गरेर आठ कार्यक्रम सञ्चालन गर्ने बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भ्रमण वर्षमा सुरक्षालाई मजबुत गरिने बताए । गैरनेपाली आवासीय सङ्घका अध्यक्ष कुमार पन्तले भ्रमण वर्षको अवसरमा डिसेम्बर ३१ र जनवरी १ तारिखमा ८३ देशमा साइकल र कार र्‌याली गरिने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्र लागिरहेको बताए।

कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सबै नेपालीलाई भ्रमण वर्षमा आबद्ध गराइने बताए । उनले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर भ्रमणका कार्यक्रम तय गरिने समेत बताए । ‘नेपालको खाली नक्शामा आफू कहाँ जाने भनेर सबैलाई हस्ताक्षर गरेर भर्न लगाउछौँ,’ उनले भने, ‘अनि प्रतिबद्धता गरेअनुसारका ठाउँमा घुम्न आग्रह गर्छौँ ।’

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…