यस्तो बन्दैछ धरहरा
काठमाडाैं– ऐतिहासिक धरहरा पुनःनिर्माणको कामले ३० प्रतिशत सकिएको छ । दुई वर्षमा सक्ने गरी रमन कन्सट्रक्सनले धरहरा पुनःनिर्माणको काम गरिरहेको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको एतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण भइरहेको छ । तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म ६२ करोड सकिएको जनाइएको छ ।
अहिले टावरमुनिको काम सकेर दोस्रो तलाको ढलान गर्ने तयारी भइरहेको छ । नेपाली र केही भारतीयसहित दैनिक १ सय ५० कामदार नियमितरूपमा निर्माणमा खटिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमै काम सक्नेमा कुनै आशंका नगरी ढुक्क हुन आग्रह गरे । निर्धारित समयमै निर्माण पूरा गर्न आउँदो पुससम्म ५० प्रतिशत काम सक्नुपर्ने भएकाले त्यसै अनुसार भइरहेको प्राधिकरणको दाबी छ ।
नयाँ बन्ने धरहराको चौडाइ पहिलाको भन्दा ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछन् । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।
धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । अहिले गोश्वारा हुलाक भत्काउने काम भइरहेको छ ।
धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
धरहराको १८ औं तलामा अवलोकलनकक्ष, धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो ।
– शर्मिला पाठक (रासस)
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…