November 29, 2019

भरतपुर विमानस्थलमा १० दिन हवाई सेवा रोकिने

चितवन– नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मत गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।

कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ ।

ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष सुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए ।

भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका ५/५ जहाज काठमाडौँ र एक/एक जहाजले पोखरा उडान भर्दै आएका छन् । गौतमले भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन चाहेमा चलाउन सक्नेगरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । करीब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…