December 4, 2019

भ्रमण वर्षमा सघाउन राजदूतहरूलाई अनुरोध, राजदूतहरूद्वारा सघाउने प्रतिबद्धता

Visit Nepal 2020
३१ देशका राजदूत तथा पाँच बैदेशिक साझेदार संस्थाका प्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा सहयोग गर्न अनुरोध गर्दै पर्यटन मन्त्री योगेश भट्टराई । तस्विर : पर्यटन मन्त्रीको सचिवालय ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न सहयोगका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई अनुरोध गरेका छन् ।

मन्त्री भट्टराईले राजदूत र बैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई बुधवार मन्त्रालयमै आमन्त्रण गरेर उक्त आग्रह गरेका हुन् ।

उनले नेपाल भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाह गरिदिन अनुरोध गरे ।

‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरूको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईँको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस्’ उनले कार्यक्रममा भने ।

साथै उनले सम्बन्धित देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै पर्यटनमन्त्रीहरुलाई आउनका लागि पहलकदमी लिइदिनसमेत आग्रह गरेका थिए ।

मन्त्री भट्टराईले भूकम्पबाट भत्किएका ८ सय ९१ सम्पदा मध्ये ३ सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी समेत दिएका थिए । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरूको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको लागि पनि अपिल गरे ।

उनले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत मात्र योगदान रहेको जानकारी दिँदै १५ औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान पुर्‍याउने लक्ष्य रहेको बताए । अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी पनि उनले दिए ।

साथै मन्त्री भट्टराईले आगामी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारम्भिक काम सकिएको भन्दै लगानीको मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताए ।

कार्यक्रममा सचिव केदारबहादुर अधिकारीले राजदूतहरूलाई स्वागत गर्दै विश्वभरि भ्रमण वर्ष–२०२० को प्रवर्द्धनका लागि अनुरोध गरेका थिए भने नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्यले नेपालको पर्यटकीय स्थलहरूको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरूमा चीन दोस्रो रहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाए । ‘नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि प्रवर्द्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ’ उनले भनिन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने बताए भने अस्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बचन दिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…