टोर्केमा सामुदायिक होमस्टे सञ्चालन
स्याङजा । स्याङ्जाको फेदीखोला गाउँपालिकस्थित टोँर्केमा थाप्ले सिद्ध समुदायिक होमस्टे सञ्चालन आएको छ । सिद्धार्थ राजमार्गको पर्सेभाटीदेखि ३ किलोमिटरको दुरीमा रहेको टोँर्केमा होमस्टे सञ्चालनमा आएको हो । होमस्टे प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले शुभारम्भ गरेका हुन् ।
समुन्द्री सतहदेखि १३ सय मिटरको उचाइमा रहेको उक्त गाउँ निकै सुन्दर र मनमोहक रहेको छ । पर्सेभाटीबाट हिँडेर गएमा एक घण्टमा पुगिने टोँर्केमा पोखरा, स्याङ्जा बजारलगायतका ठाउँहरूबाट सजिलै पुग्न सकिन्छ ।
गाउँबाट दुई किलोमिटरमाथि उकालो चढेपछि थाप्ले हिल सिद्धाथानको अवलोकन गर्नुका साथै सनराईज र सनसेटको हेर्न सकिन्छ । यसको साथै प्राकृतिक दृश्य, हिमश्रृखला, वन जङ्गलको साथै प्राकृतिक सौन्दर्यसँग रमाउन सकिन्छ । पहिले ६० घरधुरी रहेको टोँर्केमा अहिले घटेर २५ घर मात्र रहेको छ ।
यस ठाउँमा मुख्य गरी गुरुङ समुदायको बसोबास छ । गुरुङको अलावा ब्राह्मण र दलित मिश्रित रहेको छ । यो होमस्टेको दर्ता भने २०७५ सालमा भएको हो ।
सुरुमा पाँच घरमा सुरु गरिएको होमस्टे बिस्तार गर्दै लैजाने थाप्ले सिद्ध सामुदायिक होमस्टेका अध्यक्ष जुमकाजी गुरुङले बताए । ६५ वर्षीय गुरुङ भारतीय सेनाबाट अवकाश प्राप्त सैनिक हुन् । उनकै नेतृत्वमा हामेस्टे सुरु भएको हो ।
होमस्टे भर्खर सुरुवात गरेको जनकारी दिँदै अध्यक्ष गुरुङले तालिम लिई रहेको बताए । ‘अहिलेसम्म हामीले पाहुनालाई भगवान् मानेका छौँ । जो कोही आए पनि गाउँमा आएकालाई निःशुल्क खाना बस्न दिइन्थ्यो भने होमस्टे सुरु भएपछि पैसा लिनुपर्ने रहेछ भनेर थाहा पाएकोले पैसा लिन थालेका छौँ’ उनले भने । होमस्टेमा २० जनासम्म पाहुनालाई खाना बस्नको व्यवस्था छ ।
होमस्टेमा स्थानीय परिकारहरू जस्तो लोकल कुखुरा, खसी , सागसब्जी, काँक्रो, सिमीका साथै ढिँडो, मकै, दूध, दही र मोहीलगायतका परिकारको स्वाद लिन सकिन्छ ।
होमस्टे आधुनिक समय सापेक्ष रूपमा निर्माण गरिएको बताइएको छ । होमस्टेमा सय जना अट्ने सामुदायिक भवन पनि छ । होमस्टेको निर्माणको लागि गण्डकी प्रदेश सरकारबाट किस्ता गरी १५ लाख, गाउँपालिकाको सहयोग अनुदान र गाउँलेको श्रमदान गरेको करिब २० लाखको लागतमा होमस्टेमा पूर्वाधार निर्माण गरिएको छ ।
केही समय पछि सङ्ग्रहालय बनाउने योजना रहेको पनि अध्यक्ष गुरुङले बताए । यस किसिमको होमस्टेको विकासले नजिकिँदै गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नुका साथै आन्तरिक पर्यटनको विकासमा पनि सहयोग हुने अपेक्षा लिन सकिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…