December 5, 2019

पर्यटन प्रवर्द्धन गर्न भरतपुर र लुम्बिनी बीच सम्झौता

भरतपुर– भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न द्विपक्षीय सम्झौता भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीबीच बुधबार सम्झौता भएको हो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दुवै क्षेत्रको पर्यटन विकासमा सहकार्य गर्ने सम्झौता भएको हो । एघार बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी दुवै क्षेत्रको पर्यटन विकासमा दुवै स्थानीय तहले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्झौतामा भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच दुवै क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि सहयोग गर्ने, दुवै स्थानीय तहका पर्यटन क्षेत्रसँग सम्बन्धित सूचना जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ विषयको आदान–प्रदान गर्ने सम्झाैता भएको छ । यस्तै भरतपुर र लुम्बिनी हवाई सेवा सञ्चालन गर्न पहल गर्ने, भरतपुर महानगरको एक सडकलाई लुम्बिनीमार्ग र लुम्बिनी सांस्कृतिक नगरपालिकाको एक सडकलाई भरतपुरमार्गका रूपमा नामाकरण गर्ने उल्लेख छ ।

यसैगरी दुवै पालिकाका सहरहरुलाई सफा, सुन्दर, स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लाष्टिक झोला, सुर्तीजन्य पदार्थ आदि मुक्तक्षेत्र घोषणा गर्ने, राष्ट्रिय एवं अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन एवं भ्रमणका विषय संयुक्तरूपमा अगाडि बढाइने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरीले भरतपुर महानगर प्रमुखसहितको समूहलाई लुम्बिनी भ्रमणको निम्तो दिए । उनले भरतपुर महानगरको साथ आफूहरुलाई चाहिएको बताउँदै आवश्यक सहयोग गरिदिन पनि आग्रह गरे।

उक्त अवसरमा भरतपुर महानगर प्रमुख दाहालले आफूहरुले भ्रमण वर्षलाई लक्षित गरी धेरै कार्यक्रम तयार पारेको र पुसको अन्त्यतिर बृहत कार ¥यालीसहित लुम्बिनी भ्रमणको तयारी भएको बताइन् ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकातर्फबाट पत्रकार हेमबहादुर विष्टले लुम्बिनी २५ भन्दा बढी देशको सांस्कृतिक केन्द्र भएको र यहाँ वार्षिक १६ लाख पर्यटकले भ्रमण गर्न आउने गरेको बताउँदै लुम्बिनीको विकासमा भरतपुरले साथ दिनुपर्ने बताए ।

भरतपुर महानगरका पर्यटनविज्ञ विश्व सुवेदीले भरतपुर महानगरका २७ पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले दुई स्थानीय तहबीच समन्वय गर्दा दुवैलाई फाइदा पुग्ने बताइन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…