December 9, 2019

पर्यटन तान्न मादी नदीमा ताल निर्माण गरिँदै

दमौली– व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो ।

उक्त आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए ।

नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ । नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ ।

‘मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ,’ नगरप्रमुख न्यौपानेले भने, ‘यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब छ अर्ब लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५ सय क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिनेछ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…