December 13, 2019

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

काठमाडाैं– नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबारदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ। पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको हो ।

मुग्लिन नारायणगढ सडक आयोजनाका अनुसार पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना छ ।

यो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन १५ किलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिने छन्। यसैगरी, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छन्।

एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकायको समन्वयमा चल्न दिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…