दुल्लुको पौवा दरबारलाई सङ्ग्रहालय बनाइयो
दैलेख– दुल्लु नगरपालिकाले पुरानो पौवा दरबारलाई सङ्ग्रहालय बनाएको छ । विजया साहित्य उद्यान निर्माणको प्रक्रिया थालेको र नेपाली भाषाको पहिलो शिलालेख (राजा दामु पाल, शाके १३२७)लाई संरक्षणका लागि नेपाल पर्यटन बोर्डबाट आएको रकमले घेरबारसम्मका काम गरेको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भ्रमण वर्ष लक्षित कुनै पनि नीति तथा कार्यक्रम नभए पनि नगरपालिकाभित्रका विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण र प्रचारप्रसार गरिने बताए। नगरपालिकाले दैलेख र दुल्लुको सिमाना कोटिलामा मानवनिर्मित ताल बनाउन विस्तृत परियोजना प्रतिवेदन निर्माण गरेको छ ।
उनले छिट्टै ताल निर्माणसँगै डुङ्गा सञ्चालन, मत्स्यपालन, विद्युत् उत्पादनका कामको सुरुआत गरिने बताए । पोखराको फेवाताललाई स्मरण गर्ने गरी निर्माण गर्ने योजना बनाइएको र त्यसले दैलेखको पर्यटन प्रवर्द्धनमा निकै सहयोग पुग्ने विश्वास आफूले लिएको खड्काले बताए । दैलेखको पञ्चदेवलको भने कर्णाली प्रदेश सरकारमार्फत जीर्णाेद्धार गर्ने काम भएको छ । पर्यटन बोर्डमार्फत पञ्चदेवल क्षेत्रसम्म पुग्ने बाटो पक्की गर्ने काम भइरहेको छ ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले गाउँपालिकामा भ्रमण वर्ष लक्षित कार्यक्रम नभएको तर प्रदेश र सङ्घीय सरकारबाट निर्देशन भएमा भ्रमण वर्ष लक्षित कार्यक्रम बनाउन सकिने बताए । ‘गाउँपालिकामा रहेको भगवतीमाई मन्दिर, शिवमन्दिर, शहीद मयाराम स्मृति उद्यान, मालिका मन्दिर जाने पर्यटक पदमार्ग निर्माणको काम गाउँपालिकाले गरेको छ,’ थापाले भने ।
चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारीबारे जानकारी भए पनि त्यस लक्षित बजेट विनियोजन गर्न नसकिएको बताए । उहाँले भ्रमण वर्षभन्दा पनि नगरपालिका आफ्नो नगर क्षेत्रमा रहेको सम्पदाको संरक्षणतर्फ लागेको बताए ।
नौमुले गाउँपालिकाले पर्यटन वर्ष लक्षित कार्यक्रम नभए पनि आफ्नो क्षेत्रमा रहेको द्वारी झरना र त्यसमा जाने पर्यटकका लागि घरबास सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा निर्माण सम्पन्न र निर्माणको तयारीमा रहेका जलविद्युत् आयोजना हेर्न आन्तरिक पर्यटक बढेका छन् ।
तत्कालीन जिल्ला विकास समिति दैलेखको समन्वयमा २०७० सालमा पर्यटन प्रबद्र्धन समिति निर्माण गरिएको थियो । समितिले पाँचवर्षे पर्यटन गुरुयोजना निर्माण गरेको थियो । अहिलेसम्म उक्त योजना जिल्ला बाहिरबाट आउनेहरुलाई देखाउने काम भए पनि गुरुयोजनानुसार कुनै पनि स्थानीय सरकारले काम नगरेको संयोजक टेकबहादुर खाणको गुनासो छ ।
दैलेखको इतिहासका बारेमा योगी नरहरिनाथले लेखेको ‘इतिहासप्रकाश भाग १,२,३’ मा लेखिएका कुरा हराउँदै र मेटिदै जान थालेपछि २०७३ सालमा पत्रकारले इतिहास पुनःलेखनका काम शुरु गरेका थिए । दुई विज्ञमार्फत पुनःलेखनको काम भइरहे पनि त्यसले पूर्णता पाउन सकेको छैन । इतिहास र भाषा साहित्यबारे इतिहासविद् डा राजाराम सुवेदी र डा मधुसूदन गिरीले सो कामको जिम्मेवारी लिएका छन् ।
दैलेखका पर्यटकीय क्षेत्रमाथि लामो समयदेखि अध्ययन र अनुसंन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका प्रा डा प्रेम शर्माले दैलेख अहिले रारा घुम्न पुग्ने पर्यटकको दोस्रो रोजाइमा रहेको बताए । आफूले विभिन्न विदेशी पर्यटक ल्याएर दैलेख हुँदै रारा जाने योजना बनाए पनि दैलेख दुल्लु क्षेत्र हुँदै पादुका झरेर राकम कर्णाली पुग्ने सडक सहज नभएका कारण रारा पुगेर फर्कने धेरैको दैलेख पुग्ने धोको पूरा नभएको बताए । स्थानीय सरकारले राकम कर्णाली बजारबाट दुल्लु हुँदै दैलेख आउने पर्यटन मार्ग निर्माण गरेर सञ्चालन गरेमा रारा पुग्ने अधिकांश पर्यटक दैलेख आउने उनको सुझाव छ ।
–नरबहादुर रिजाल (रासस)
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…