December 17, 2019

शुक्लाफाँटामा साढे चार सय प्रजातिका चरा

भीमदत्तनगर– विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको सङ्ख्या वृद्धि भएको जानकारी दिए । उनले सन् २०१९ को हिउँदयाममा भएको गणनामा ४५० प्रजातिका चरा भेटिएको बताए ।

सन् २०१२ को गणनामा ४२४ प्रजातिका चरा थिए । नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत यहाँ पाइने बताइन्छ । सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएको छ। नेपालमा ८८७ प्रजातिका चरा रहेका बताइन्छ । विश्वमै दुर्लभ मानिने चराको प्रजाति यहाँ रहेका छन्।

भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…