December 18, 2019

यस्तो छ पोखरा ठूलाकोटको प्राकृतिक र ऐतिहासिक महत्व

पोखरा– पोखरा महानगरपालिका–२८ स्थित ठूलाकोटसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृतिलगायतको प्रचार–प्रसार एवं पूर्वाधार विकासमा स्थानीय तहले चासो दिन थालेका छन् ।

पछिल्लो समय ओझेलमा परेको ठूलाकोटलाई स्थानीयवासी र स्थानीय तहले चासो दिन थालेसँगै यहाँको विकास हुने आशा जगाएको छ ।

ठूलाकोटलाई यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ स्थानीय तहले सक्रियता बढाएको वडाध्यक्ष निर्मल दियालीले जानकारी दिए । ‘ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको ठूलाकोट प्रवर्द्धन र पूर्वाधार विकास अभावमा पछि परिरहेको वास्तविकतालाई दृष्टिगत गरी हामी यसको प्रवर्द्धन र विकासमा लागिपरेका छौँ,’ उनले भने, ‘ठूलाकोटसम्म पुग्ने बाटोघाटो र पर्यटक लक्षित पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी अघि बढिएको छ ।’

इतिहासलाई खोतल्दा बाइसे/चौबिसे राजाका पालामा तत्कालीन गण्डक क्षेत्रका कोटमध्येको ठूलो कोट भएकै कारण यसको नाम ठूलाकोट रहन गएको समाजसेवी एवं कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । तत्कालीन समयमा छिमेकी लमजुङ राज्यबाट आइपर्ने आक्रमणको खतरा सामना गर्न यस ठाउँमा सेना तैनाथ गरिन्थ्यो। त्यसै समयमा यहाँ शक्ति स्वरूपा कालभैरव र दुर्गाको पूजाआजा गरिएको पाइन्छ ।

विगतको इतिहास र प्रचलित संस्कृतिलाई निरन्तरता दिँदै अहिले पनि प्रत्येक चैतेदशैँ र विजयादशमीमा यहाँ विशेष पूजाआजा गर्ने गरिएको उनले बताए । स्थानीय जागरुकतासँगै गठित ठूलाकोट धार्मिक पर्यटन विकास समिति गुरुयोजनाका साथ यहाँको समग्र विकासमा अघि बढेको समितिका अध्यक्ष ऋषिराम त्रिपाठीले जानकारी दिए ।

उत्तरमा मादीनदी, दक्षिणमा सेतीनदी, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको क्षेत्रलाई प्राचीनकालदेखि नै ठूलाकोट मौजाको रूपमा लिने गरिएको उनले बताए । प्रचुर सम्भावनायुक्त यस ठाउँमा प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, मनोरञ्जन र साहसिक पर्यटनका विविध पूर्वाधार निर्माण गरी पर्यटनबाट रोजगारी र आयआर्जन बढाउने योजना रहेको वडाध्यक्ष दियाली बताउँछन् ।

ठूलाकोट आफैँमा प्राकृतिक दृश्यावलोकन स्तम्भ भएको बताउँदै उनले यहाँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, खास्टे, निउरेनी, गुदे, दिपाङ्ग र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडाको दृश्यावलोकन गर्न सकिने विषयलाई पर्यटन बजारमा पु¥याउन नसकिएको उल्लेख गरे । यहाँबाट हिमाली दृश्य, पोखरा तथा लेखनाथका तालका साथै बिहान–बेलुका देखिने सूर्योदय र सूर्यास्तको मनोरम दृश्य एकसाथ नियाल्न सकिन्छ ।

प्राचीनकालदेखि स्थापित कालभैरव र दुर्गा मन्दिरका कारण यहाँको विशिष्ट धार्मिक महत्व रहेको छ । तत्कालीन नेपालका बाइसे÷चौबीसे राजाका पालामा यहीँबाट सीमा सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा यसको महिमा र गरिमा रहेको बूढापाका बताउँछन् ।

यहाँ आएर कालभैरव र दुर्गालाई पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण दशैँका साथै अन्य समयमा विभिन्न स्थानबाट भक्तजन भाकलसहित पूजाआजा गर्न आउँछन् । मन्दिरको पूजा व्यवस्थामा हाल वडा कार्यालयबाट सहयोग गरिएको छ । वडाध्यक्ष दियालीका अनुसार मन्दिरका सम्पूर्ण गुठी जग्गा तथा सम्पत्ति समितिको मातहतमा ल्याउने गरी प्रयास सुरु गरिसकिएको छ ।

कवि शिरोमणिले आफ्ना कवितामा ठूलाकोट र यहाँका प्राकृतिक सुन्दरतालाई उल्लेख गरेका कारण त्यसै समयदेखि नै यहाँको चर्चा देश–विदेशमा चुलिएको स्थानीय युवा एवं कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका सहसचिव रामप्रसाद तिमल्सिना बताउँछन् । कवि शिरोमणिलाई लेखनमा प्रेरणा दिएको ठूलाकोट र यस आसपासका प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाको उजागर गर्दै यस क्षेत्रलाई अर्को विशिष्ट गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।

–रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…