ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान
ओखलढुङ्गा– ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलमा सोमबार तारा एयरको विमानमार्फत परीक्षण उडान गरिएको छ । काम सुरु भएको १३ वर्षपछि बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकेर परीक्षण उडान गरिएको हो ।
सोमबार विमानस्थलको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताएका छन् ।
मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्यमा छिटो पुग्न सकिने बताए । समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले पर्यटकीय क्षेत्रको विकासमा सरकार लागिपरेको उनको भनाइ थियो ।
आव २०६३/६४ मा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो । आव २०६९/७० बाट विमानस्थलको जग्गा सम्याउने काम सुरु भएको थियो । विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन र अस्थायी टावरघरको निर्माण सम्पन्न भएपछि उडान गरिएको आयोजना प्रमुख एवम् नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर विनायक भट्टराईले बताए ।
विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ । केही दिनअघिमात्र ठेकेदार कम्पनीले विमानस्थलको ग्राभेल लगायतको काम सकेको हो । ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित दुई करोड पाँच लाख ३३ हजार ७४० मा ठेक्का लागेको थियो । ५८० मिटर लम्बाइ र चौडाइ विमानस्थलको रनवे ग्राभेल गरिएको छ ।
कूल ६५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिनेछ । रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोष्ट लगायतका अन्य संरचनाहरु अझै बन्न बाँकी छन् । पहिरो रोक्न वाल, रनवेको थप स्तरोन्नतिको काम पनि बाँकी छ ।
गाउँमा विमान पुगेपछि स्थानीयवासी खुशी भएका छन् । पर्यटनको प्रचुर सम्भावना भएको ठाउँमा विमान आइपुग्नु आफैँमा हर्षको विषय भएको सगरमाथा आरोही पेम्बा शेर्पाले बताए । विश्वको सर्वोच्च शिखर सगरसाथमा हेर्न आउने विदेशी नागरिकलाई समेत चण्डेश्वरी विमानस्थलबाट लैजाँदा सहज र सस्तो हुने उनको भनाइ थियो ।
विमानस्थलमार्फत नियमित उडान हुन सके जिल्लाको पश्चिमी भूभागका स्थानीयवासीलाई सहज हुने खिजिदेम्बा गाउँपालिका–४ का वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । सहज यातायातको सुविधा नहुँदा यस क्षेत्रका नागरिक आपत्कालीन आवस्थामा लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । ढिलै भए पनि आफ्नो क्षेत्रमा विमानस्थल बन्दा यहाँका स्थानीयवासी हर्षित भएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…