December 23, 2019

‘भुवा नाँच’ जगेर्ना गर्न दुबईबाट बिदामा

–शेरबहादुर सिंह


भीमदत्तनगर– मुलुकभित्र रोजगारी नपाउँदा विदेशिनु परेका युवा कडा परिश्रमपछिको आम्दानीले घरपरिवारको खर्च चलाउने मुख्य योजना प्रायः सबैको हुन्छ । विदेशमा राम्रो कमाइ हुनेले समाजका लागि पनि केही लगानी गर्छन् ।

दश वर्षअघि आफूसँग प्रतिभा हुँदाहुँदै पनि मजदूरीका लागि दुबई हान्निएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका लक्ष्मण अधिकारीको समाज, संस्कृति संरक्षणका लागि दिएको योगदान सम्झना लायक छ । दश वर्षदेखि दुबईमा सुरक्षा गार्डमा कार्यरत ४८ वर्षीया अधिकारी डेढ वर्षपछि घर फर्किदा पारिवारिक भेटघाटसँगै लोप हुन लागेको सुदूरपश्चिमको मौलिक भुवा नाँच (फस्सो)को जगेर्नाका लागि भन्दै ४५ दिन बिदा लिएर यहाँ आएका छन् ।

विदेशिएका प्रायः नेपाली दशैँ, तिहारजस्ता चाडपर्वमा घर बिदामा आउँछन् । भीमदत्त नगरमा परम्परागत भुवा नाच प्रदर्शनको तयारीमा जुटेका अधिकारीले भने, ‘मैले कामको चाप हुने दुबईमा पनि सुदूरपश्चिमेलीलाई भेला गरेर बाजागाजासहित भुवा नाच देखाएको छुँ ।’ देउडीयाका रुपले परिचित अधिकारी सुदूरपश्चिमको देउडा र संस्कृतिप्रति मात्रै झुकाव राख्छन् । उनी विगतमा खेलकूद क्षेत्रमा पनि मुलुकमै परिचित खेलाडीका रुपमा पनि कहलिएका थिए । स्कूले जीवन फुटबलबाट खेल जीवनमा उदाएका अधिकारीले कबड्डी खेलमा झण्डै दुई दशक खर्चिएका यहाँका पुराना खेलाडीसमेत हुन् ।

‘कबड्डीबाट दशौँ दक्षिण एशियाली खेलकूद प्रतियोगितासम्म मैले मुलुकका लागि खेलेँ,’ उनले भने, ‘दश वर्षजति राष्ट्रिय टिममा रहँदा तीन वटा साग निरन्तर खेल्ने अवसर पनि पाए ।’ कबड्डीका अब्बल खेलाडी अधिकारी अवसर नपाएपछि बाध्य भएर २०६६ सालमा मजदुरीका लागि दुबई पलायन भएको बताउँछन् ।

मङ्सिरको दोस्रो साता घर बिदामा यहाँ आएका अधिकारीले गत मङ्सिरको अन्तिम साता काठमाडौँको राष्ट्रिय नाचघरमा भुवा नाच प्रदर्शन गरेर गृहनगर भीमदत्त नगर आइपुगेको बताए । ‘नेपाल आउनासाथ काठमाडौँमा भएका बझाङ, बाजुरा, अछाम र डोटीलगायत भुवा खेल्ने पहाडी जिल्लाका युवा साथीलाई भेला पारेर भुवा देखाएर आएँ,’ उनले भने, ‘भीमदत्त नगरमा यही पुस १२ गतेदेखि भुवा प्रदर्शनको तयारीमा जुटेको छु ।’ उनले खप्तड समाज कञ्चनपुरको अगुवाइमा भुवा प्रदर्शन हुने बताए ।

बझाङ र बाजुरामा बढी खेलिने भुवा तराई कैलाली र कञ्चनपुरमा भने लामो समयदेखि मनाउन छाडेको अधिकारीको भनाइ छ । ‘पहाडबाट बसाइँ सरेसँगै यहाँका केही गाउँबस्तीमा फाट्टफुट्टरुपमा भुवा खेल्ने गरे पनि लोप हुने अवस्थामै पुगिसकेको छ,’ उनले भने, ‘युवा पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्न पनि भुवा जगेर्ना गर्न आवश्यक छ ।’

सामाजिक सद्भाव, एकता र भेटघाटको माध्यमसमेत भुवा रहेको भन्दै अधिकारीले समूहमा खेलिने भुवाको सामाजिक, सांस्कृतिक एवं धार्मिक मान्यता रहेको बताए । त्रेता युगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुशियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । भुवामा पाँच पाण्डपको गाथासमेत गाइने गरिन्छ । यो पर्व सुदूर तथा कर्णाली प्रदेशका केही जिल्लामो मनाइने गरिन्छ ।

यस पर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबडा मान्यजनले आर्शीवाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । भुवामा ढाल, तरबार र बाजाका साथै नाचमा सहभागी दौरा सुरुवालमा सजिने गर्छन् । ‘बुबा÷आमाकै प्रेरणाबाट सात÷आठ वर्षकै उमेरमा देउडाप्रति मोह बढेर गयो,’ उनले भने, ‘देउडालाई विदेशमा पनि प्रचारप्रसार गराउने काम गरेका छौँ।’

चार वर्षअघि दुबई सेवा समाजसमेत गठन गरेर सुदूरपश्चिमको रीति, संस्कृतिलाई संरक्षणमा जोड दिँदै आएका अधिकारीले दुबईमा गौरा पर्व, होली, विशुलगायतका सुदूरपश्चिमका पर्व निरन्तर मनाउँदै आउनु भएको छ । ‘काठमाडौँबाट ढाल, तरबार मगाएर पनि दुबईमा भुवा नाच सफल बनायौँ,’ उनले भने, ‘प्रदेशमा गाउँ भाका र कला, संस्कृतिको मायाको बखान शब्दले व्यक्त गर्न सकिँदैन ।’

लाहुर्‌यादेखि पीडितको उद्धारसम्म

सुदूरपश्चिमको देउडालाई लामो समयदेखि साथ दिइरहेका अधिकारीले कलाकारिताका माध्यमबाट पनि देउडा जगेर्नामा सघाउ पु¥याएका छन् । ‘दुबईको लाहु¥या’ नामक देउडा एल्वमसमेत निर्माण गरेका उनले दुबई सेवा समाजमार्फत त्यहाँ समस्या पर्दा सुदूरपश्चिमेलीलाई निकै सहयोग पु¥याएका छन् ।

‘समाजले दुःख पर्दा, घाइते हुँदा, उद्धार गर्नुपर्ने अवस्था आए सहयोग पुर्‌याउँछ,’ उनले भने, ‘देशमा भूकम्प आउँदा पनि समाजले प्रधानमन्त्री राहत कोषमा पनि साढे छ लाख प्रदान गरेको थियो ।’ घर बिदा आउँदा देउडा गीतसमेत बजारमा ल्याउने गरेका अधिकारीले तीन वटा एल्बम निकाल्नुका साथै पाँच वटा देउडा गीतमा शब्द सिर्जना गरेको बताए । –रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…