December 26, 2019

पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनुपर्ने : दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भरतपुर विमानस्थलमा स्वागत गर्दै जिल्लाका नेता कार्यकर्ता । तस्बिर : कृष्ण आचार्य/रासस

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन् ।

चितवनको रत्ननगरमा बुधबार नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गुरे । उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए ।

अध्यक्ष दाहालले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गरेका छन् । समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । उनले भने,’हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवा उदाउँदो सूर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।’

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि सुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरणमा पुर्‌याएको छ । आजबाट शुरु भएको जेसिजको ४६औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशनमा नेपालभरका दुई हजार ५०० भन्दा बढीको उपस्थिति रहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…