भोटेकोशीसँग पौठेजोरी (भिडियो)
काठमाडौं । नेपालमा हुने धेरै साहसिक पर्यटकीय खेलहरु मध्ये र्याफ्टिङ पनि एक हो । यसका लागि नेपालका केही नदीहरु विश्वमै उत्कृष्ट मध्येमा पर्छन् ।
त्यही मध्येका हुन्, भोटेकोशी । काठमाडौंमा चिसोले च्याप्दै लगेको एक बिहान सखारै एक हुल तन्नेरीहरु भोटीकोशी जानका लागि तयार भए । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) ले मंसिर १० देखि १२ गतेसम्म आयोजना गरेको हिमालयन ह्वाइट वाटर र्याफ्टिङ च्यालेञ्ज– २०१९ मा सहभागी हुनका लागि उनीहरु भोटेकोशी पुगे । यसको खास उदेश्य नेपाल भ्रमण वर्ष २०२० का साथै नेपालको र्याफ्टिङलाई पनि अन्तर्राष्ट्रय क्षेत्रमा प्रचार प्रसार हो ।
विश्वमा करिव ६ हजार नदीमा र्याफ्टिङ गरिन्छ, त्यस मध्ये नेपालका तीन नदीहरु कर्णाली, सुनकोशी र भोटेकोशी उत्कृष्ट दश भित्र पर्छन् । त्यसो त नेपालका सुनकोसी, मस्र्याङ्दी, त्रिशूली, सेती, भेरी, कालीगण्डकी, बूढीगण्डकी, तमोर, अरुण, तामाकोसी, कर्णालीलगायतका १६ नदीमा र्याफ्टिङ गर्न सरकारले अनुमति दिएको छ ।
नेपालमा गरिने र्याफ्टिङ ह्वाइट वाटर र्याफ्टिङको रुपमा विश्व प्रख्यात छ । त्यसैले जलयात्रामा रुची राख्ने विदेशीहरुका लागि नेपाल पछिल्लो समय गन्तव्य बन्न थालेको छ । नेपालीहरुमा पनि रुची बढ्दो छ ।
नेपालको सबैभन्दा लामो र ठूलो नदी कर्णाली नदीमा गरिने र्याफ्टिङ संसारकै उत्कृष्ट मानिन्छ । नेपालीहरु माझ भने र्याफ्टिङका लागि त्रिशूली नदी सबैभन्दा प्रचलित छ । यहाँ सिजनमा आन्तरिक तथा विदेशी पर्यटकहरूको निक्कै ठूलो संख्याले र्याफ्टिङ गर्छन् ।
यस पटक नाराले आयोजना गरेको १८ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज–२०१९ मा १२ देशका ६६ खेलाडी सहभागी भए । क्यानडा, जापान, अष्ट्रेलिया र नेपालबाट धेरै जनाको सहभागिता थियो । प्रतियोगितामा कायकतर्फ चार विधामा प्रतिष्पर्धा भएको थियो । सलालम, बोटर क्रस, डाउन रिभर रेस र स्प्रीन्ट विधामा महिला र पुरुष समुहले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितमा पुरुषतर्फ चेक रिपब्लिकका होन्जा हावेल्का प्रथम भए भने महिलातर्फ अष्ट्रेलियाकी लिजा हेथ उत्कृष्ट भइन् । पुरुषतर्फ नेपालका सुरज गुरुङ द्वितीय र फ्रान्सका रेमोण्ड चिण्डिनी टिटोभान तेस्रो भए ।
त्यस्तै महिलातर्फ क्यानडाकी माओडे लमव्यू दोस्रो र नेपालकी शुधा राई तेस्रो भइन ।
त्यसैगरी कोर्पोरेट र्याफ्टिङ रेसमा १६ टीम सहभागी थिए । पुरुष र महिला दुवैतर्फका विजेताहरुले प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे । नाराले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिता गत वर्ष लमजुङको मस्र्याङ्दी नदीमा गरिएको थियो ।
यस प्रतियोगितालाई आयोजकले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपालको नदीहरुसँगै त्यसमा हुने हिमालयन ह्वाइट वाटर र्याफ्टिङको पनि प्रवर्द्धन को मौकाको रुपमा अथ्र्याएका छन् । साथै र्याफ्टिङलाई नेपाली पर्यटनको प्रमुख अंगको रुपमा विकास गर्न सकिने बताएका छन् ।
र्याफ्टिङमा लागिरहेका व्यवसायी तथा अभियन्ताहरुले यो साहसिक पर्यटकीय गतिविधिको विकासका लागि नदीहरुको अनियन्त्रित दोहोन रोक्नुपर्ने बताएका छन् । कमसेकम सरकारले र्याफ्टिङका लागि अनुमति दिएका १६ नदीमा भइरहेको गतिविधिहरुले र्याफ्टिङलाई असर पार्न नहुने उनीहरुको भनाई छ । पछिल्लो समय जलविद्युतलगायतका नदीको पानीको प्रयोग तथा नदीमा भएका स्रोतहरुको दोहनका कारण र्याफ्टिङ समस्यामा परेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…