December 27, 2019

३२९ वर्ष पुरानो तलेजुको नगरा ताहा सत्तलमा

भक्तपुर नगरपालिकाले भक्तपुर दरबार स्क्वायर क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुरानो दुई वटा ठूला ऐतिहासिक नगरालाई बिहीबार ताहा सत्तल (तबा सत्तल) मा पुनःस्थापना गर्ने क्रममा नगरा बजाउँदै नगरप्रमुख सुनिल प्रजापति । तस्बिर : रमेश गिरी/रासस

भक्तपुर– भक्तपुर नगरपालिकाले भक्तपुर दरबार स्क्वायर क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुराना दुई ठूला नगरालाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहासत्तल (तबा सत्तल) मा बिहीबार पुनःस्थापना गरेको छ ।

भ्रमण वर्षका अवसरमा नगरपालिकाले मर्मतसम्भार गरी ती नगरालाई बिहीबार दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरी ताहा सत्तलको पहिलो तल्लाको पश्चिमी भागमा पुनःस्थापना गरेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरानो नगराका विषयमा नयाँ पुस्तालाई थाहा दिन पहिलेकै ठाउँमा पुनःस्थापना गरिएको बताए । राजा जितामित्रका पालामा तलेजु भवानीलाई चढाइएको नगरा पुनःस्थापना गर्नुका साथै सुरक्षित राखेर नगरा बजाउने व्यवस्था गरी यसलाई जीवन्तता प्रदान गर्ने योजना रहेको उनले बताए ।

नगरपालिका उपप्रमुख रजनी जोशीले पुर्खाले छाडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गरिएको बताए । दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले लामो समयदेखि तलेजु परिसरमा रहेका नगरा विगतमा ताहा सत्तलमा राखिएको इतिहास भएको उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकका लागि नगराका विषयमा जानकारी दिनु आवश्यक भएकामा जोड दिए।

संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे चर्चा गरे । भक्तपुर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भ्रमण वर्षका अवसरमा नगरपालिकाले यही पुस १५ गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए । नेपाली सेनाको सहयोगमा नगरालाई ताहा फल्चामा पुनःस्थापना गरिएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…