December 27, 2019

पढ्नुहाेस् दाङका थारु नाचहरु

–रीता लामा

Indigenous culture
सुदूरपश्चिमका आदिवासी थारु होमस्टेको एक झलक

घोराही– दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुदायमा प्रचलित नाच प्रस्तुत गरिन्छ । त्यसमध्ये ठूलो अर्थको बर्कानाच पनि एक हो ।

थारु संस्कृतिविद् अशोक थारुका अनुसार बर्कानाच महाभारत कथामा आधारित लोककाव्य हो, महाभारतको युद्ध अभिनय हो । थारु समुदायको सबैभन्दा ठूलो यस नाचमा महाभारत युद्धको विषय सामूहिक अभिनयसहित नाचेर प्रस्तुत गरिन्छ । लामो समयदेखि हराएको यो नाच दाङका थारु अगुवा चन्द्रप्रकाश चौधरीको सक्रियतामा विसं २०६४/६५ साललेखि फेरि सक्रिय रुपमा प्रस्तुत गर्न थालिएको छ । थारु जातिमा बर्कानाच नाचेमा त्यस वर्ष कुनै पनि विपत्ति नआउने विश्वास रहिआएको छ । अहिले हरेकजसो कार्यक्रम, मेला महोत्सव, उत्सव, दिवस, जुलुस आदिमा बर्कानाच देख्न सकिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन यही पुस १६ गते दाङको बाह्रकुने दहमा हुँदैछ । उद्घाटनका क्रममा पाहुनालाई स्वागत सत्कारका लागि आयोजकले थारुनाचलाई प्राथमिकतामा राखेको छ । जिल्लामा थारुबाहेक, मगर, यादव, नेवार, क्षेत्री समुदायका विभिन्न प्रकारका लोकनाच पनि प्रचलनमा छन् । त्यसमध्ये पनि जिल्लामा सबैभन्दा धेरै प्रस्तुत गरिने र सबैले चासो दिने भनेको थारु जातिका थरीथरिका नाच नै हुन् ।

थारु जातिकै अर्को नाच लठ्वानाच पनि हो । यो नाच पनि देउखुरी उपत्यकाका थारु समुदायका युवा चाडपर्व, मेला, उत्सवका समयमा पिठ्युँमा मयूरको प्वाँख बाँधेर हातमा एक मिटर जति लौरो लिएर एकार्काको लौरो ठोकाएर मादलको तालमा यो नाच्ने गर्छन् । मगर जातिमा नाचिने सरङ्ङेनाच र थारु जातिको लठ्वानाच बीच धेरै समानता छ ।

यहाँका संस्कृतविद्ले यस नाचलाई पर्यटक आर्कषण गर्ने लोकनृत्यका रुपमा लिने गर्छन् । लोकसंस्कृतविद् डा गोविन्द आचार्य जिल्लाको पर्यटन प्रवर्द्धनमा लठवानाचको भूमिका धेरै रहेको बताउँछन् । लठ्वानाचका लागि कुनै चाडपर्व कुर्न नपर्ने, जुनसुकै समयमा पनि नाच्न सकिने र अलि उत्ताउलो खालको भएको हुँदा नाच्ने युवा र हेर्ने दर्शक दुवै आकर्षित हुने गरेको उनको अनुभव छ ।

दाङ उपत्यकामा थारु जातिको अर्को ‘सख्या पैयाँ नाच’ पनि हो जसमा दशैँमा थारु युवाको सहभागिता हुन्छ । थारु संस्कृतविद् अशोक थारु सख्यापैया ‘भागवत पुराण’मा आधारित नाच भएको बताउँछन् । ‘यसमा मानव सृष्टिको विषयदेखि कृष्णकथासमेत समेटिएको हुन्छ,’ उनले भने, ‘थारु युवतीहरु गोपिनी र युवाहरु कृष्णका रुपमा मादल बजाउँदै सहभागी हुन्छन् ।’ यो कृष्णाष्टमी र दशैँमा गाउने नाच्ने गरिन्छ ।

संस्कृतिविद् थारुका अनुसार दाङको थारु जातिको ज्यादै महत्वपूर्ण साङ्गीतिक सामग्री र तिनको लोकजीवन अध्ययन गर्नका लागि यो महत्वपूर्ण छ जुन ग्रामीण पर्यटनका लागि आकर्षण बन्न सक्छ । जिल्लामा व्यावसायिक थारु ग्रामको स्थापना गरी यस्ता नाच देखाउन सके ग्रामीण पर्यटकको चाप बढ्न सक्ने उनको विश्वास छ ।

जिल्लाका सबैजसो धार्मिकस्थलमा लाग्ने मेलामहोत्सवमा थारु जातिका युवा आआफ्नो वेशभूषामा नाचगान गर्ने र पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको छ । आफ्नो वेशभूषमा सजिने अनि लोकनाच प्रस्तुत गर्ने क्रम मौलाउँदै जान थालेको छ ।

यसबाहेक थारु जातिमा सङ्खिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । यस्तै जहिलेसुकै नाचिने छोक्रानाच, हातमा रङ्गीबिरङ्गी टालो बाँधेर नाचिने झुम्रानाच, हुदुङ्ग्यानाच, मयूरनाच पनि नाचिन्छ ।

केही वर्षयता जिल्लाका सबैजसो ठाउँमा मेला महोत्सव पनि लाग्ने र जाति विशेषले आफ्नो मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हुँदा थारु समुदायको कला, संस्कृति र मौलिक नाचले ठाउँ पाएको थारु अगुवाको भनाइ छ ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी दुईतीन वर्षदेखि थारु समुदायको नाच व्यापक रुपमा चलनचल्तीमा आएको बताउँछन् । ‘पछिल्लो समय सांस्कृतिक कार्यक्रम गर्ने जमात बढेको हुँदा लोकनाचहरुले निरन्तर मञ्च पाइरहेका छन्,’ उनले भने, ‘गाउँघरमा पनि युवकयुवतीहरु क्लब, समूह, सङ्घसस्था गठन गरेर मौलिक नाच सिक्ने, वेशभूषामा सजिने क्रम बढेको छ ।’

उनका अनुसार स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि लोककलाले अलि बढी ठाउँ पाएको छ । जनप्रतिनिधि वा स्थानीय सरकार आफैँले चासो नदिए पनि कलासंस्कृतिका अगुवाले आग्रह गरेपछि लोकसंस्कृति जगेर्नाका लागि स्थानीय सरकारले यसमा चासो दिएको उनी बताउँछन् । –रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…