यस्ता छन् भ्रमण वर्षमा पर्यटकीय संस्थाका अफर
- सिबी अधिकारी
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउनका लागि पर्यटन क्षेत्रका अगुवा सङ्गठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन् ।
होटल एशोसिएसन अफ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षमा विदेशी पाहुनालाई स्तरीय सुविधा उपलब्ध गराउन कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।
हानले सन् २०२० मा २५ लाख पर्यटकलाई धान्नसक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी करिब दुई हजार होटल आबद्ध छन् । सरकारी तथ्याङ्कअनुसार अहिले ४५ हजार श्यया छन् । यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ ।
सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउन लागेको भ्रमण वर्षले सबै पर्यटन व्यवसायीलाई उत्साहित बनाएको र कार्यक्रमलाई भव्य र सभ्य बनाउन समन्वयतात्मक ढङ्गले आगाडि बढ्ने हानले घोषणा गरेको थियो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षभर आफ्ना सदस्य कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गरिसकेको बताए ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि भ्रमण वर्षलाई सफल बनाउन भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यसहित संस्थाले सम्बद्ध ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने घोषणा गरिएको बताए ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले भ्रमण वर्षको अवधिमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । भ्रमण वर्षमा विदेशी पाहुनालाई आफ्ना सेवामा १५ छुटको अफर दिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिए । नेपाल पर्वतारोहण सङ्घले पनि आफ्ना क्षेत्रमा विशेष छुट दिने बताएको छ ।
त्यसैगरी घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनले भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् । राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा नेपालको पर्यटन प्रवर्द्धनमा सशक्त भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एशिया ट्राभल (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्षलाई सफल बनाउन अन्तरराष्ट्रिय इभेन्ट गर्दैछ । पाटा नेपालले सन् २०२० को फेब्रुअरीमा नाइस कार्यक्रम (नेपाल भारत चाइना एक्सपो) आयोजना गर्दैछ भने हिमालयन ट्राभल मार्टको चौथो संस्करण पनि गर्नेछ ।
भ्रमण वर्षलाई लक्षित गर्दै प्रवर्द्धनात्मक गतिविधिका साथै पर्यटनमा दक्ष जनशक्ति उत्पादन तथा बजारीकरणलाई संस्थाले प्राथमिकता दिने पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्ले पनि भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रम भर्षैभरि गर्ने जनाएको छ । पर्यटन क्षेत्रमा आबद्ध ४० भन्दाबढी संस्था छन् ।–रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…