हाम्रो उदेश्य टार्गेट अनुसार २० लाख पर्यटक भित्र्याउनु: वैद्य
सुरज वैद्य, संयोजक–नेपाल भ्रमण वर्ष २०२० ।काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा सम्बन्धित कार्यालयहरूको पनि व्यस्तता बढेको छ । भ्रमण वर्ष सचिवालयले कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न सङ्घ सस्थाहरुसँग सहमति र सहकार्य गरी अगाडि बढी रहेको छ । नेपाल भ्रमण वर्ष २०२० को तयारी कस्तो छ भन्ने सम्बन्धमा हाइलाइट्स टुरिजमका लागि वेद गुरुङले नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यसँग गरेको कुराकानीको सम्पादित अंशः
भ्रमण वर्षको तयारी कसरी अगाडि बढी रहेको छ?
नेपाल भ्रमण वर्षको तयारी तिब्रा रूपमा भइरहेको छ । विशेष गरी जनवरी १ मा दशरथ रङ्गशालामा हुने उद्घाटन कार्यक्रमको लागि हामी केन्द्रित छौँ । उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । यसमा प्रधानमन्त्री केपी ओलीको विशेष सम्बोधन हुने कार्यतालिका रहेको छ । यसपालि कार्यक्रममा नेपालको संस्कृति देखाउने कोसिस गरी रहेका छौँ । कार्यक्रम तीन घण्टाको हुनेछ । यसलाई सकेसम्म कम गराउने कोसिस गरी रहेका छौँ । कार्यक्रम साढे तीन बजेबाट सुरु हुनेछ । यसको काम करीब करीब अन्तिम् चरणमा पुगेको छ । अहिले हामीले अभ्यास गरिरहेका छौँ । कार्यक्रमका लागि स्टेडियममा काम भइरहेको छ ।
विदेशी पर्यटन मन्त्रीहरूको कुन कुन देशबाट आउने निश्चित भयो?
यसको जिम्मा मन्त्रालयले लिएको छ । मन्त्रालयले करीब ४० देशका मन्त्रीलाई निमन्त्रणा गरेको हो । यसमा अहिले आउने निश्चित चाहिँ मैले बुझेको आधारमा छिमेकी मुलुकहरूबाट आउने सम्भावना भई सकेको छ । यसका साथै म्यानमार, कतारबाट आउने निश्चित छ । कतारबाट आउनु महत्त्वपूर्ण छ किनभने कतारमा वर्ल्ड कपको तयारी भइरहेको छ । त्यसमा नेपाल भ्रमण वर्षको प्रमोसन गर्न सहयोग मिल्दछ । भारतको आउने भएको छ यसको अलावा अन्य चार वटा मुलुकबाट आउने पनि निश्चित छ ।
भ्रमण वर्षको खर्च के कति अनुमान गर्नु भएको छ?
भ्रमण वर्षको बजेट तपाईँलाई थाहा नै छ । नेपाल सरकारले दिने कुरा भएको छ । भ्रमण वर्षको हातमा सबै आई सकेको छैन । बोलीले मात्र हुँदैन दिन्छ होला भन्ने आशा गरिरहेका छौँ । भ्रमण वर्षको उद्घाटनमा कसरी हुन्छ कम भन्दा कम खर्च गर्ने योजनामा छौँ । अहिलेसम्म सम्पूर्ण स्टेडियम भाडासहित लगभग दुई करोड खर्च हुने अनुमान गरेका छौँ । यसमा काम गर्दै जाँदा थपघट हुनसक्छ । त्यो नेपाल सरकारले दिने कुरा भएको छ । यसका लागि स्टेडियम भाडा मैले सुनेको आधारमा प्रतिदिन १५ लाख रहेको छ । यसका लागि कम्तीमा मिलाउने कोसिस गरी रहेका छौँ । नेपालको कार्यक्रम भएको कारणले यसमा मिलाउन सकिएला ।
तपाईँले बीचमा थप बजेटको आवश्यक पर्छ भन्नु भएको थियो त्यसमा के भइरहेको छ?
हामी निजी क्षेत्रबाट आएका साथीहरू हुनाले कुनै पनि प्रोजेक्ट गर्नु भन्दा पहिले हामीसँग पैसा छ कि छैन त्यो हेर्छौं । सबै भन्दा पहिले, बजेटमा आएको चाहिँ १० करोडको थियो । अहिले थप १५ करोड भएको छ । खातामा २५ करोड आएको छ । २५ करोडको आधारमा हामी काम गरिरहेका छौँ । भ्रमण वर्ष २०२० को लागि आएको २५ करोड हो । मूल समितिले काम गर्दै जानु पैसाको कुनै समस्या हुँदैन भने आश्वासन दिएको छ । हामीले विश्वासका साथ काम गरिरहेका छौँ ।
नेपाल बाहेक विदेशमा गरिने कार्यक्रमहरू के के रहेका छन्?
जनवरी १ तारिखको बिहान हरेक प्रदेशमा र्याली हुन्छ । र्याली बाहेक अरू भ्रमण वर्षसँग सम्बन्धित कार्यक्रम हुन्छ । मैले साफ गेमको उद्घाटन र समापन कार्यक्रम हेरेको छु । त्यसरी नै नेपालका पर्यटन वर्षको सुरुवात हरेक नेपालीको घर–घरमा जानकारी हुनेगरि काम गरिरहेका छौँ । स्टेडियममा बसेका १२ हजारले मात्र नभई सबैले एक साथ हेर्ने वातावरणको सिर्जना हुने गरी काम रहेका छौँ । रेडियो, टेलिभिजन र विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी पुर्याउने कोसिस गरिरहेको छौँ । खास लाइभको लागि नेपाल टेलिभिजनलाई जिम्मा दिइएको छ । त्यसबाट जोडेर अरू च्यानललाई मिलाउने कोसिस पनि गरी रहेका छौँ ।
अब विदेशको सन्दर्भमा जनवरी ७ तारिखमा सबै राजदूतावासमा कार्यक्रम गर्ने जानकारी भइसकेको छ र त्यहीँ दिन गर्ने छौँ । यति मात्रै होइन, इतिहासमा पहिलो पटक होला युरोपका सबै राजदूतहरूलाई रोममा बोलाएर दुई दिन छलफल गर्ने कार्यक्रम तय गरिसकेका छौँ । यसैगरी नै बैङ्ककमा एसियाका सबै राजदूतहरू बोलाएर छलफल गरी सकेका छौँ । मिडिलइष्टका साथीहरूसँग पनि छलफल गरिसकेका छौँ । यसरी नै नेपालका राजदूत भएका सबै मुलुकको भ्रमण वर्षको बारेमा जानकारी भइसकेको छ । त्यति मात्र नभएर सम्बन्धित त्यही देशका पर्यटनसँग सम्बन्धित रहेका साथीहरू निम्त्याएर भ्रमण वर्षको सुरुवात गर्ने छौँ । यसका साथै नेपालको राजदूतावास नभएको देशमा नेपालका गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ ।
तपाई पर्यटन क्षेत्र भन्दा बाहिरको मान्छे के कस्ता चुनौती र सहयोगहरू भइरहेको छ?
सम्बन्धित निकायबाट प्रशस्त सहयोग पाएको छु । सहयोग पाएको कारणले गर्दा नै अहिले हामीले विभिन्न सहमतिहरू गरेर काम गरिरहेका छौँ । जस्तै: टान, नाटा, हान, पाटालगायत विभिन्न सङ्घसंस्थाका साथीहरू बसेर काम गरिरहेका छौँ । मुख्य कुरा हामीले बझ्नु् पर्ने कुरा के हो भने भ्रमण वर्ष मेरो र तपाईँको मात्र नभएर हामी सबैको हो । यो राष्ट्रको साझा अभियान हो । राष्ट्रिय गौरवको आयोजना हो । भ्रमण वर्ष एउटा अवसर हो । यसको नेतृत्व मैले गरेको छु फाइदा निजी क्षेत्रलाई नै हुने हो । हामी त केवल पछाडिबाट सपोर्ट दिने मात्र हो । अरू सबै काम गर्ने फाइदा लिने निजी क्षेत्र नै हो । सबैले मिलेर जानु पर्ने हुन्छ । सबैको साथ र सहयोग जरुरी हुन्छ किनभने फाइदा हुने निजी क्षेत्रलाई नै हो ।
भ्रमण वर्षको अन्तिम तयारीमा पुग्दै गर्दा यसको लागि चाहिने पूर्वधारको अवस्था कस्तो छ?
अहिले हाम्रो लक्ष्य र उद्देश्य भनेको २० लाख पर्यटक ल्याउने हो । जुन टार्गेट गरेका छौँ , त्यो पुरा गर्नुपर्ने हुन्छ । त्यसकै लागि जुटिरहेका छौँ । काम गरिरहेका छौँ । सबैभन्दा पहिलो कुरा के हो भने पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । त्यहाँ तपाईँले देखेकै होला यही महिना देखि धेरै सुधार भइसकेको छ । यसलाई हामीले तयारी मान्नु पर्छ । जनवरी १ तारिखमा नयाँ एराईभल हाल खुल्ला गर्ने तयारीमा छौँ । जसले गर्दा बहिराबाट आउने पर्यटकको लागि सजिलो हुन्छ । इमिग्रेसनसँग हामी बसेका छौँ । उहाँहरूले बायोमेट्रिक र नयाँ प्रविधियुक्त ड्यासबोर्ड ल्याउने कुरा गर्नु भएको छ । त्यो पनि १ तारिखसम्म पुरा हुने जानकारी पाएका छौँ । हामीले त्यसका लागि आवश्यक पर्ने जनशक्तिलाई सहयोग गर्ने हेतुले तालिमहरू दिईसकेका छौँ र जनशक्ति तयारी अवस्थामा रहेको छ । जसका लागि सबै भन्दा महत्त्वपूर्ण ठाउँ भनेको विमानस्थल नै हो । त्यसमा हामीले धेरै काम गरिसकेका छौँ ।
यसको अलावा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि मार्चसम्म तयार हुने सरकारले घोषणा गरेको छ । त्यो चाहिँ बुद्ध जयन्तीको दिन सुरु गरी बुद्धिस्ट मुलुकका सबै मन्त्रीहरूलाई निम्त्याउने छौँ । त्यसले पनि ठुलो सहयोग पुग्ने आशा लिन सकिन्छ । यसको साथै नेपालमा प्रवेश गर्ने सीमा तथा नाकाहरूमा नमस्ते सेन्टर राखिने छ ताकि त्यसले पर्यटकले सजिलै जानकारी लिन सकियोस् ।
अर्को चाहिँ नयाँ प्रविधिको प्रयोग गरी कति पर्यटकहरू आउँछन् भनेर तथ्याङ्क राख्नको लागि गृह मन्त्रालयबाट सहकार्य गरी अगाडि बढिरहेका छौँ ।
यसरी हेर्दा भ्रमण वर्षको तयारी निकै तीव्र गतिमा भई रहेका छ । पर्यटन वर्षमा जुन महत्त्वाकाङ्क्षी उद्देश्य लिइएको छ, त्यो पुरा गर्न सम्बन्धित निकाय लागि परेको देख्न सकिन्छ । पर्यटन क्षेत्र आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा लिन सकिन्छ । लक्ष्य पुरा भएको खण्डमा नेपाल सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पुरा हुनेछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…