January 2, 2020

मध्यपहाडी क्षेत्रमा सहस्राब्दी पदमार्ग

  • वासुदेव पौडेल

Millennium trek

पोखरा । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)को थप प्रवर्द्धन र विकासको योजना बनेको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछालाई जोड्ने सो पदमार्गको दूरी ७२ किलोमिटर रहेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रमा ५० हजार पदयात्री हिँडाउने लक्ष्य सार्वजनिक गर्दै स्वदेश तथा विदेशमा दूत नियुक्तिको तयारी गरेको हो ।

समितिले आगामी माघ महिनाभित्र स्वदेश एवं विदेशका लागि पदमार्गका सद्भावना दूत नियुक्ति गर्ने तयारी गरेको महासचिव हर्क गुरुङले जानकारी दिए । “देश तथा विदेशमा ख्याती कमाएका व्यक्तिलाई सद्भावना दूत नियुक्ति गर्ने तयारी गरेका छौं । उहाँहरूका माध्यमबाट मिलेनियम ट्रेकको प्रचारप्रसार गरिने छ ” उनले भने ।

समितिले पदमार्गको समग्र विकास र प्रवर्द्धनका लागि वृहत् गुरुयोजना तयार गरेको जनाएको छ । पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई समेट्दै अघि बढ्ने गुरुयोजनामा रहेको छ ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्व अध्यक्ष डम्बरबहादुर केसीले पदयात्रा पर्यटनको सम्भावना देखेर सन् २००० मा अवधारणा अघि सारिएको जानकारी दिनुभयो ।

उनले भने, “पदयात्रा पर्यटन उत्तर तर्फ हिमालको फेदीतिर मात्रै विकास भइरहेको अवस्थामा मध्यपहाडी क्षेत्रमा पनि उत्तिकै सम्भावना छ है भन्ने सन्देश दिनका लागि हामीले यसको अवधारणा अघि सारेका हौं ।”

पदमार्ग क्षेत्रमा पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका गर्ने गुरुयोजनामा रहेको छ । योजनामा पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटन सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण तथा उपयोग गर्ने र कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य रहेको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न ४४ वटा स्थानमा सङ्केत पाटी राखिसकिएको र यस आर्थिक वर्षमा काम जारी रहने जनाइएको छ ।

Millennium trek पर्यटन बोर्डकै सहयोगमा सहस्राब्दी पदमार्गको नयाँ नक्शाको तयारीका साथै चराचुरुङ्गी सम्बन्धी अध्ययन पनि भइरहेको छ । गण्डकी प्रदेश सरकारले पनि पदयात्रा पर्यटनलाई महत्व दिँदै आएको छ । चालु आर्थिक वर्षमा सो पदमार्गसहित अन्नपूर्ण चक्रीय पदमार्ग र धौलागिरि पदमार्गका लागि रु १८ करोड विनियोजन समेत गरेको छ ।

वालिङ नगरपालिका–२ राम्चेमा तमु सङ्ग्रहालय र पुतली बजार नगरपालिका–७ सादी खोलामा मिलन चौतारीपार्क निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

पदमार्ग क्षेत्रमा घरवासलगायतका व्यवसायमा पनि वृद्धि भएको मिलेनियम भैँसेगौँडा सामुदायिक घरवासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिए ।

पदमार्ग क्षेत्रमा मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका –३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा न–ं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरवास सञ्चालनमा आइसकेका छन् ।

त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा– ११ स्थित राइपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । पदमार्ग क्षेत्रको साविक राङभाङ गाविस वडा नं– ५ स्थित रहस्यमय गुफा जस्ता धेरै ठाउँ प्रचारको पर्खाइमा रहेको छ ।

यहाँबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न पाइन्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर, लोपोन्मुख गिद्धलगायत १३४ प्रजातिका चरा पाइने भएकोले पदमार्ग क्षेत्रमा चरा पर्यटनकोसमेत ठूलो सम्भावना देखिन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…