January 3, 2020

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात । हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । तस्बिर : विमलबहादुर विष्ट/ रासस

काठमाडाैं– पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना छ । वर्षा लगातार नभई केही समय रोकिँदै फेरि सुरु हुने जनाइएको छ ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…