फेब्रुअरी १ देखि मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ महोत्सव हुने
काठमाडौँ । मनाङको हुम्देमा आउँदो फेब्रुअरी १ देखि १० तारिखसम्म दोस्रो आइस क्लाइम्बिङ महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आइतबार पत्रकार सम्मेलन गरेर महोत्सवको कार्यक्रम सार्वजनिक गरेको हो ।
आइस क्लाइम्बिङ महोत्सव गत वर्षबाट सुरु भएको हो । दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको एनएमएका महासचिव कुल बहादुर गुरुङले बताए । महोत्सवमा नेपाल क्लाइम्बिङ टिम सहआयोजक रहेको छ भने नेपाल सरकार, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको पनि सहयोग रहेको गुरुङले बताए ।
कार्यक्रममा सहभागी हुनको लागि जनवरी १५ तारिखसम्म समयसिमा तोकेता पनि २५ गतेसम्म आउनेलाई सहभागी गराउने नेपाल क्लाइम्बिङ टिमका महासचिव विष्णु तामाङले बताए । पहिलो वर्ष २० जना क्लाइम्बरहरुको सहभागिता रहेकोमा यस वर्ष ४० देखि ४५ जनासम्म सहभागी हुने अनुमान गरिएको छ । उनले भने, ‘नेपाली क्लाइम्बर भन्दा विदेशी क्लाईम्बरलाई फोकस गरेका छौँ, कार्यक्रममा कसरी हुन्छ धेरै भन्दा धेरै विदेशी सहभागी गराउने हाम्रो योजना छ ।’
आइस क्लाइम्बिङमा विशेष ज्ञान, सीप र दक्षता भएकोलाई लानु पर्ने भएकाले विदेशी क्लाईम्बरहरुलाई प्राथमिकता दिइएको तामाङको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार महोत्सवमा आइस क्लाइम्बिङ प्रतियोगिता, आईस क्लाइम्बिङ प्रशिक्षण, डकुमेन्ट्री प्रदर्शनीलगायतका कार्यक्रम रहेका छन् । साथै हुण्डे क्षेत्रमा आइस क्लाइम्बिङका लागि अन्य स्थानहरुको खोजी गरिने पनि जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले महोत्सव नेपाल भ्रमण वर्ष २०२० कै पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हुने भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउने मुख्य आधार माउन्टेनियरिङ नै भएकोले यसको विकास र विस्तारमा सबै मिलेर जानु पर्ने उनको भनाई थियो ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुनको लागि नेपाली क्लाइम्बरलाई १५ हजार रुपियाँ शुल्क तोकिएको छ भने विदेशीलाई ३ सय ५० अमेरिकी डलर तोकिएको छ । महोत्सवमा कुल २८ लाख ६५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…