January 7, 2020

भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ सिड्नीबाट

 

Visit Nepal 2020

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख अतिथिमा भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गरिएको हो ।

कार्यक्रम सिड्नीको सर्कुलर कीमा भएको थियो । कार्यक्रममा सयौं नेपाली र केही विदेशीको पनि उपस्थिति थियो ।

अष्ट्रेलियास्थित कान्तिपुर संवाददाता नारायण खड्काका अनुसार केही अनलाइनहरुमा भनिए जस्तो र्‍यालीलाई रोकिएको भने होइन । कार्यक्रम सकिएपछि सहभागीहरु अपेरा हाउसतिर समुहमा जान लाग्दा रोकिएको हो ।

उनका अनुसार नेपालीहरुको हातमा नेपाल र अष्ट्रेलियाको झण्डा थियो । अपेरा हाउसमा समुहमा विना अनुमति जान पाइदैन ।

नेपाल भ्रमण वर्षको विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत मंगलबार भव्य शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रियरूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौंको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् । सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए । सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको देश तथा विदेशमा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…