January 12, 2020

भकुण्डेका घरवासमा लोभिए कोरियन

भकुण्डे गाउँ ।

बागलुङ– दक्षिण कोरियाको ‘हानशिन’ विश्वविद्यालयका २४ स्वयंसेवी विद्यार्थीले भकुण्डेको अतिथि सत्कार घरवासमा बिताए । यहाँको सत्कार, संस्कृति र खानपानमा रमाए । शनिबार सबेरै मुलाबारीको दृश्यावलोकन स्तम्भ पुगे । सेताम्मे हिमाल हेरे, आफूलाई भुलाए । जनजाति सङ्ग्रहालय घुमे, दिउँसो पैदलै सदरमुकाम फर्के ।

तीन घण्टाको पदयात्रापछि शुक्रबार साँझ उनीहरु बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे पुगेका थिए । विश्वविद्यालयका प्राध्यापक ‘किम कि जुङ्ग’ भकुण्डे तेस्रोपटक पुगेका थिए ।  बागलुङ आउँदा भकुण्डे नपुगे उनको यात्रा अधुरो हुन्छ । प्रा जुङ्गको नेतृत्वमा आएका विद्यार्थीले यो साता यहाँ खुशीले बिताए ।

टोली घरवास ‘होमस्टे’पुरा गरी शनिबारै पोखरा फर्कियो । ‘भकुण्डे घुम्न पाउँदा रमाइलो लाग्छ, हामी खुशी छौँ,’ प्रा जुङ्गले भने, ‘अर्को वर्ष पनि आउने योजना बनिसकेको छ ।’ उक्त विश्वविद्यालयले विगत सात वर्षदेखि आफ्ना विद्यार्थीलाई स्वयंसेवाका लागि बागलुङ पठाउँदै आएको छ ।

कोरियन विद्यार्थी, स्वयंसेवक र पर्यटकलाई बागलुङयात्राका क्रममा व्यवस्थापन तथा समन्वयको काम गर्दै आएका छन्, स्थानीय केवी शाहीले । उनी लामो समय कोरियामा बसेर १२ वर्षअघि नेपाल फर्किएका थिए । ‘कोरियाबाट वर्षेनी स्वयंसेवी विद्यार्थी आउनहुन्छ,’ उनले भने, ‘सधैं उहाँहरु भकुण्डे जानुहुन्छ, त्यहाँको घरवासमा रमाउनुहुन्छ ।’

उनका अनुसार कोरियन विद्यार्थी तथा पर्यटक पदयात्रा, स्थानीय परिकार र संस्कृतिमा रमाउन चाहन्छन् । विद्यार्थीबाहेक घुमन्ते पर्यटकलाई पनि उनले भकुण्डे पुर्‌याउँछन् । पहिले पोखरा र अन्य चल्तीका पर्यटकीयस्थल पुग्ने कोरियनहरु विस्तारै बागलुङतर्फ आकर्षित हुन थालेको छन् ।

कोरियन पाहुनाहरु सजिलो र खर्चिलो पनि हुने घरवासका सञ्चालक मुना थापामगरले सुनाए । ‘स्थानीय खानाका परिकार बढी मन पराउनुहुन्छ, पैसा पनि सजिलै तिर्नुहुन्छ,’ उनले भने । कोरियन विद्यार्थी र स्वयंसेवी समूह नियमित आउन थालेपछि भकुण्डेले थप प्रचार पाएको घरवास सञ्चालकको अनुभव छ ।

२४ कोरियन र चार नेपाली पाहुना चार घरवासमा बाँडिएर बसेका थिए । भकुण्डेका नौ घरमा घरवास सेवा सञ्चालित छ । विसं २०६८ देखि भकुण्डेमा घरवास सुरु भएको हो । दैनिक एक सय जति पर्यटक राख्ने क्षमता घरवासमा छ । पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराइन्छ ।

यसपटक कोरियाबाट आएका विद्यार्थीले नेपाल भ्रमण वर्षको सन्देशसमेत लिएर जाने समन्वयकर्ता शाहीले बताए । ‘विद्यार्थीलाई भ्रमण वर्षको प्रवद्र्धनमा पनि सहयोग गर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘सन् २०२० मा नेपाल घुम्न जाने सन्देश लिएर उहाँहरु आफ्नो देश फर्कनुहुनेछ ।’

भ्रमण वर्षकै स्वागत र प्रचारका लागि कोरियन विद्यार्थीले गत सोमबार बागलुङ महोत्सवमा साङ्गीतिक प्रस्तुतिसमेत राखेका थिए । विश्व प्रसिद्ध ‘के–पप’ नाचमार्फत नेपाल भ्रमण वर्ष सफलताको कामना गरेका थिए । बागलुङ रहँदा उनीहरुले स्थानीय ‘होली चाइल्ड’ विद्यालयमा कोरियाको संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरे ।

‘नेपाली विद्यार्थीलाई चित्रकला, खेलकूद, सङ्गीत र कोरियन भाषासम्बन्धी ज्ञान तथा सीप सिकाउन कोरियनहरु यहाँ आउँछन्,’ समन्वयकर्ता शाहीले भने । सरसफाइलगायत सामाजिक जागरणका क्रियाकलापमा पनि उनीहरु सहभागी हुन्छन् । कोरिया र नेपालको संस्कृति आदान–प्रदानमासमेत कोरियनले भूमिका खेल्छन् ।

नेपाल आउँदा सिकेको कला र संस्कृतिलाई कोरियामा लगेर आफ्नो समुदायमा प्रदर्शन गर्छन् । दूतावास, विश्वविद्यालय, नेपाल–कोरियामैत्री संस्था र अन्य सरकारी संयन्त्रमार्फत कोरियन विद्यार्थी अध्ययन भ्रमणमा वर्षेनी नेपाल आउँछन् । बागलुङपछि त्रिभुवन विश्वविद्यालयमा दुईदिने गोष्ठीमा भाग लिएर उनीहरु स्वेदश फर्कनेछन् ।

कोरियनको बागलुङ आउजाउ बढ्न थालेपछि बागलुङ नगरपालिका र कोरियाको नगरपालिकाबीच मितेरी साइनो गाँस्न पहल अगाडि बढाइएको छ । नगरपालिकाले शाहीलाई नै उक्त कार्यका लागि समन्वयकर्ताको रूपमा नियुक्त गरेको छ । कोरियाका नागरिकले यहाँका विद्यालय, अस्पताललगायत सार्वजनिक सेवाका क्षेत्रमा आर्थिक, भौतिक सहायता दिँदै आएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…