January 14, 2020

यस कारण पर्यटकको बसाई लम्बिएन बुद्ध स्थलमा

  • निरा गौतम

Lumbini-10 world heritage site in Nepal

रुपन्देही । लुम्बिनी र यस क्षेत्रका अन्य बौद्ध क्षेत्रहरु विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । यी गन्तव्यहरुको प्रवर्द्धनका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष समेत मनाइरहेको छ ।

लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रुपमा बढाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नारासहित बौद्ध स्थलहरुमा विभिन्न प्रवर्द्धनात्मक तथा आध्यात्मिक गतिविधि सञ्चालन गरिएका छन् । लुम्बिनीमा मात्र सीमित रहेका पर्यटकीय गतिविधिहरु भ्रमण वर्षका कारण यससँग सम्बन्धित बौद्ध स्थलहरुमा पनि आयोजना हुन थालेका छन् ।

लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक महत्वको क्षेत्र हो । यहाँ शान्तिका नायक गौतम बुद्धको इसापूर्व ६२३ मा जन्म भएको थियो । यो भूमि संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुका लागि पवित्र गन्तव्यको रुपमा रहेको छ ।

सन् १९७८ मा प्रो. केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अनुसारको काम सम्पन्न हुन अझै केही वर्ष लाग्ने छ । यद्यपि लुम्बिनी अब घुम्नलायक आकर्षक गन्तव्यको रुपमा तयार भएको छ र यसैकारण यो वर्ष यसको प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्ष घोषणा गरिएको हो । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन गतिविधि बढेको त देखिन्छ तर पर्यटकको बसाइ अवधि भने लम्बिन सकेको छैन ।

भैरहवा–लुम्बिनी सडक खण्ड निर्माणको क्रममा रहेको र वैकल्पिक सडकको विषयमा जानकारी नहुँदा पर्यटक आवागमनमा कमी आएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । “लुम्बिनी भ्रमण वर्षका कारण यहाँ पर्यटकीय गतिविधि बढेका छन् जसले गर्दा पर्यटन व्यवसायीहरु उत्साहित छन् तर, पर्यटकहरुको बसाइ अवधि कम छ,” अध्यक्ष श्रेष्ठले भने, अब “बसाइ अवधि लम्ब्याउन पर्यटकीय प्याकेजको तयारीमा लागैका छौं ।”

लुम्बिनीदेखि करीव २८ किलोमिटरको दूरीमा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट छ तर, लुम्बिनी आउने अधिकाँश पर्यटक यो पवित्र स्थानमा पुगेका हुदैनन् । अहिले सडक निर्माणको क्रममा रहेकाले पर्यटकहरु लुम्बिनीबाट सहजै तिलौराकोट पुग्ने अवस्था छैन । पूर्व–पश्चिम राजमार्गबाट तिलौराकोट जान निकै सजिलो छ । कपिलवस्तुको गोरुसिङ्गेबाट ११ किलोमिटरको दूरीमा सजिलै तिलौराकोट पुग्न सकिन्छ । अर्कोतर्फ तिलौराकोटमा पर्याप्त पर्यटकीय पुर्वाधार नहुँदा आकर्षणको केन्द्र बन्न सकेको छैन । विभिन्न अध्ययनहरुले तिलौराकोटमा पर्यटकको बसाइ अवधि औसत ३९ मिनेट मात्र रहेको देखाएको छ । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्य भागमा रहेको राजप्रासाद अवलोकन भ्रमण गरी फर्कने गरेका छन् ।

South Korean Kim Hyong Hyo (Sagarmatha Gurung) loves Nepal
किम लुम्बिनीमा ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले दुरहाम विश्वविद्यालय बेलायत, नेपाल सरकार र विज्ञहरुको संलग्नतामा लुम्बिनी विकास कोषले पुस २२ गतेदेखि पुनः उत्खनन थालेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिउ । उद्दले भने, “अबको दुई वर्षभित्र बुद्धले २९ वर्ष बिताएको राजा शुद्धोधनको दरबार यही हो भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्ने काम सम्पन्न हुन्छ । यो राष्ट्रकै महत्वको विषय हो ।”

अध्ययनअनुसार तिलौराकोट आएका ११ प्रतिशत मात्रै राजा शुद्धोधन र रानी मायादेवीको समाधिस्थल मानिएको धमनिहवा स्तूप जाने गरेका छन् । यो तिलौराकोट दरबारबाट ७०० मिटरकै दूरीमा अवस्थित छ । यस्तै, नौ प्रतिशतले मात्रै तिलौराकोटदेखि ७०० मिटर पश्चिम दक्षिण रहेको कपिलवस्तु सङ्ग्रहालय अवलोकन गर्न जाने गरेका छन् ।

तिलौराकोटबाट सात किलोमिटरको दूरीमा क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा छ । यो स्थानमा भाँचिएको अशोक स्तम्भ र प्राचीन स्तूपको भग्नावशेष छ । यसको पनि उचित प्रचारप्रसार र सम्बर्द्धन हुन सकेको छैन । यहाँ पुग्ने पक्की सडक रहे पनि घुमफिर गरेर समय बिताउने वा आध्यात्मिक चिन्तन मनन गर्ने पूर्वाधार नहुँदा पर्यटकहरु आएका छैनन् । आएका पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन् ।

यस्तै, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा पनि कपिलवस्तुमै छ । तिलौराकोटदेखि नौ किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ । यहाँ पनि भाँचिएका अशोक स्तम्भका टुक्रा र निग्लिसागर पोखरी छन् । यस स्तम्भमा उत्कीर्ण अभिलेखले कनकमुनि बुद्धको जन्म यस स्थलमा भएको तथ्य प्रमाणित गर्दछ । यो क्षेत्रमा भ्रमण वर्षको अवसरमा प्रदेश सरकारले पूर्णिमा उत्सव मनाउने बाहेक अन्य पर्यटकीय गतिविधि हुन सकेका छैनन् । यहाँ पनि सडक बाहेकका पर्यटन पूर्वाधार छैनन् ।

तिलौराकोटबाट दश किलोमिटर दूरीमा संरक्षित क्षेत्र अरौराकोट पर्दछ । यस पवित्र स्थललाई कनकमुनि बुद्धको गृहनगरको रुपमा पहिचान गरिएको छ । यहाँ प्राचीन भग्नावशेषहरु रहेका छन् । उचित प्रसारप्रसार नहुँदा यो क्षेत्रको महत्व धेरैले बुझेका छैनन् ।

प्रदेश सरकारले कनकमुनि बुद्धको गृह नगर अरौराकोट र क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवामा यसै वर्ष मूर्ति राख्ने र पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ ।

हजारौं शाक्यहरुको बध गरिएको क्षेत्र सगरहवा पनि कपिलवस्तुमै पर्छ । तिलौराकोटदेखि आठ किलोमिटर दूरीमा रहेको यो स्थानमा हाल केही भग्नावशेषहरु र एक पोखरी छन् । डा ए फुहररले यस स्थलमा सन् १८९७ मा उत्खनन् गरी बुद्धकालीन अवशेष तथा स्तूपहरु बाहिर निकालेका थिए ।

भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा आफ्ना पिता शुद्धोधन माता प्रजापति गौतमी, पत्नी यशोधरा तथा छोरा राहुललाई भेटघाट गरेको महत्वपूर्ण स्थल निग्रोधाराम पनि कपिलवस्तुमै छ । यो स्थल लुम्बिनीबाट २८ किलोमिटर दक्षिण पश्चिम तथा तिलौराकोटदेखि छ किलोमिटरको दूरीमा पर्दछ । यहाँ पुरातात्विक एवं धार्मिक महत्वका तीन स्तुप, एक पोखरी र एक इनार रहेका छन् ।

तिलौराकोटबाट १२ किलोमिटर दक्षिणमा सिसहनिया अवस्थित छ । यो स्थलमा शाक्यहरुद्वारा निर्मित प्राचीन स्तूपहरुका भग्नावशेषहरु यत्रतत्र देखिन्छन् । लुम्बिनी विकास कोषका अनुसार यस स्थलको सतहबाट प्राचीन ईंटा, माटोका भाँडाहरु, शाक्यकालीन मुद्राहरु सङ्कलन गरिएको थियो ।

यी बौद्ध स्थलहरुको प्रचारप्रसार र उचित सम्बद्र्धनको जरुरी छ । प्रचारप्रसारको अभावमा यी क्षेत्रहरुमा पर्यटक नपुगेको देखिन्छ । “पुरातात्विक हिसाबले यी क्षेत्र महत्वपूर्ण छन् तर, पर्यटकहरु पुगेकै हुँदैनन्,” लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, “पर्यटकलाई आकर्षण गर्न संरचना निर्माण गर्न आवश्यक छ ।”

बुद्ध जन्मस्थल लुम्बिनीबाट ५७ किलोमिटर उत्तरपूर्वमा बुद्धको मावलीस्थल देवदह छ । यो ठाउँ शाक्यमुनि बुद्धको आमा मायादेवी, कान्छी आमा प्रजापति तथा श्रीमती यशोधराको माइती हो । बुद्धको बाल्यकालसँग जोडिएको पुरातात्विक महत्वको क्षेत्रको रुपमा मानिएको यो स्थलको उत्खनन् हुन नसक्दा ओझेलमा परेको छ ।

नवलपरासीको रामग्राम नगरपालिकामा पर्ने रामग्राम ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल हो । सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा यो क्षेत्र पर्दछ । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तूपमा भगवान् गौतम बुद्धको महापरिनिर्वाण पछि अस्तु राखिएको छ ।

बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण पछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि आठ भाग लगाइएको थियो । बुद्धको अस्तु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि सम्राट अशोकले सबै राज्यको अस्तु सङ्कलन गरे पनि हात्तीले संरक्षण गरेर राखेकाले रामग्रामको लिन सकेन । पुरातात्विक महत्वको हुँदाहुदै पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा छ ।

लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्भे गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरेको विकास कोषका निमित्त सदस्य सचिव भट्टराईले बताए । स्तूपकै स्वरुपमा गोलो आकारमा गुरुयोजना तयार भएको जानकारी दिँदै उनले गुरुयोजनाले ११७ बिघा क्षेत्रफल ओगटेको जानकारी दिए । जग्गा अधिग्रहणका लागि रु १ खर्ब २० करोड बजेट लाग्छ र यो रकम सरकारसँग माग गरिएको छ । “यो ठाउँलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने कार्यमा लागेको छौं, ” उनले भने ।
रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…