January 14, 2020

नाट्टा निर्वाचन: विदेशमा पढेर नेपालमा काम गरिरहेकी धाख्वा

  • वेद गुरुङ

Minika Shaha Dhakhwa
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आउँदो माघ ३ गते हुने निर्वाचनमा पूर्व महासचिव मिहीका शाह धाख्वा अध्यक्षको प्रत्याशी छन् । नाट्टाको चुनावमा उम्मेदवारी दिएका तीन समूहमध्ये नेतृत्वको दाबी गर्ने उनी एक्ली महिला हुन् । त्यसो त उनको समूह समावेशी खालको छ ।

काठमाडौँमा जन्मे हुर्केकी धाख्वाले सेन्टमेरिज स्कुलबाट स्कुल शिक्षा लिएकी छन् । उनको उच्च शिक्षा सिङ्गपुर र अस्ट्रेलियामा भयो । नेपाल फर्केपछि उनी विगत २३ वर्षदेखि पर्यटन क्षेत्रमा छिन् ।

उनी पर्यटनमा पनि हस्पिटालिटी क्षेत्रबाट प्रवेश गरेकी हुन् । सन् १९९७ मा अन्नपूर्ण ग्रुपको फिस्टेल लजमा सेल्स मार्केटिङमा काम सुरु गरेर यस क्षेत्रमा प्रवेश गरेकी हुन् । काम गर्दै जाँदा अनुभव र ज्ञान विस्तारित हुँदै गयो उनले ट्राभल्स, टुर अपरेटर र टुर एजेन्ट भएर काम गर्न थालिन् । पछि उनले जेनिथ एक्सपिरियन्स् ट्राभल सर्भिस खोलेर व्यवसाय सुरु गरिन् ।

सन् २०१४ देखि २०१६ सम्म धाख्वा नाट्टाको इतिहासमै पहिलो महिला महासचिव बनिन् । त्यो समयमा पनि धाख्वाले निर्वाचनबाटै जितेकी थिइन । त्यही दुई वर्षे महासचिवको कार्यकालको अनुभवले उनलाई अध्यक्षको दाबेदार बनायो ।

आफू महासचिव भएको समयमा नाट्टामा धेरै परिवर्तनहरू ल्याउन सफल भएको उनी बताउँछिन् । पर्यटन क्षेत्रमा धेरै परिवर्तन र सुधार गर्नु पर्ने भएकोले अध्यक्ष रूपमा अहिले आउन लागेको उनको भनाई छ । पर्यटन क्षेत्रले भोगिरहेको चुनौतीहरूलाई समाधान गर्नका लागि आफू चुनावी मैदान आएको उनले प्रस्ट्याइन् ।

प्रतिबद्धताहरु:

  • अन्तर्राष्ट्रिय स्तरको पर्यटक ल्याउनको लागि कार्यक्रमहरू केन्द्रित गर्ने ।
  • पर्यटन क्षेत्रको बृहत् विकास गर्दै गुणस्तरीयतालाई जोड दिने ।
  • पर्यटन क्षेत्रको उत्पादनलाई आर्थिक आधारको रूपमा विकास गर्दै लाने ।
  • दक्ष जनशक्ति उत्पादनको लागि जोड दिँदै तालिमको व्यवस्थाहरू गर्ने ।
  • पर्यटन क्षेत्रको रूपमा काठमाडौँ, चितवन र पोखरा मात्र सीमित नराखी सात वाटै प्रदेशमा बृहत् विकास र तालिम सञ्चालन गर्ने ।
  • नेपालमा निर्माणाधीन रहेको एयरपोर्टलाई चाँडो सम्पन्न गर्नको लागि आफ्नो तहबाट पहल गर्ने
  • सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने ।
  • पर्यटन प्रवर्द्धनको लागि नाट्टामा अनुसन्धान केन्द्रको स्थापन गर्ने ।
  • पर्यटकहरूको सही रूपमा तथ्याङ्क राखी पर्यटकहरूको प्रतिक्रिया लिने र त्यसमा आधारमा सुधार गर्ने ।
  • नाट्टाको सदस्यहरूको समस्यालाई समाधान गर्नको लागि निरन्तर छलफल र अन्तर्क्रिया गर्ने ।
  • पर्यटन क्षेत्रको समृद्धि र विकासको लागि निरन्तर रूपमा लागि रहने ।
  • महिला सशक्तिकारणमा जोड दिँदै महिलाले पनि काम गर्न सक्छ भन्ने सन्देश दिनको लागि नाट्टाको दोस्रो महिला अध्यक्ष हुने ।
  • आधुनिक प्रविधियुक्त व्यवस्थित पर्यटकीय बसको व्यवस्था गर्नमा जोड दिने ।
  • पर्यटन बजारमा खस्कँदै गएको नाट्टाको साख जोगाउने
  • नेपाली पर्यटन क्षेत्रलाई विदेशी बजारमा स्थापित गराउने ।

टिमका सदस्यहरू:

वरिष्ठ उपाध्यक्ष: नारायण गुरुङ कोने
उपाध्यक्ष: रमेश थापा
महासचिवः कमला गुरुङ
सचिवः अमृत ढकाल
कोषाध्यक्षः देवकी गुरुङ
सहकोषाध्यक्षः फुडोमा शेर्पा
सदस्यहरुः विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, राजकुमार देवकोटा, भरतजंग पाण्डे र सृजना महर्जन ।

थप यो पनि: नाट्टाका निर्वाचनका लागि धाख्वा समुह घोषणा

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…