January 16, 2020

सुदूरपश्चिममा यसरी मनाउँछन् ‘चेली त्यार’

डोटी– सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेली त्यार सुरु भएको छ । विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारमाडो दिने भन्ने गर्दछन् । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ (त्यारमाडो) दिने चलन छ ।

आफ्नो माइती नभएका अर्थात् आमाबुबा, दाइ, भाउजू नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको शिखर नगरपालिका–१ कपल्लेका स्थानीयवासी निलम थापाले बताइन् । माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गरेको यहाँका स्थानीय महिला बताउँछन् ।

माघ महिनाभरि यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको केआइसिंह गाउँपालिका–५ का माधवी चन्दले बताइन् । उनले भनिन्, ‘बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् की भन्ने आशले मन खुशी भएको हुन्छ, बेलुकीसम्म कोही आउँदैन, अनि मन खिन्न हुन्छ, माघ महिना यसरी बित्छ छोरीको ।’

सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको छ । छोरी धनी होस् वा गरीब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा । छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करीब हप्तादिन पुग्नेगरी दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी गौरीदेवी बलायरले बताइन् ।

‘एक छोरीको घरमा हप्ता दिन पुग्नेगरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरुलाई साह्रै समस्या भइहाल्छ,’ उनले भनिन्, ‘त्यार नदिई नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन ।’ डोटीलगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरि नै चल्ने गर्दछ । यहाँका पहाडी जिल्लामा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरी सुदूरपश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू प्रशस्तै भेटिने गरेका छन् ।

सुदूरपश्चिममा माघ महिनालाई धार्मिक महिनाका रूपमा लिने गरिन्छ । यो महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने जनविश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायलका स्थानीयवासी तथा व्यापारी गणेश बोहराले बताए। उनले भने, ‘माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौँ, माइती नहुने छोरीलाई ठूलो दुःख हुन्छ ।’ – रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…