चारुमतीमा माघ अन्तिम साता त्रिपिटक पाठ, छ देशका दुई सय जना सहभागी हुने
काठमाडौँ– भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न यही माघ २५ र २६ गते अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिने भएको छ । चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डोचाइना फ्रेण्डसिप एशोशिएसनको संयुक्त आयोजनामा चारुमती स्तूप क्षेत्रमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र लाओसका करिब २०० भिक्षु/भिक्षुणी, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाको सहभागिता रहनेछ ।
उक्त कार्यक्रमको प्रचारप्रसारका लागि चारुमती विश्व साइकल यात्रा गरिनेछ । पहिलो दिन चाबहिलदेखि सुरु भई यात्रा गौशला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रमस्थल चाबहिल आउनेछ । त्यसपछि लगत्तै त्रिपिटक वाचन गरिनेछ । नेपाल थाई सांस्कृतिक नृत्य कार्यक्रम, कूलपुत्र प्रवज्यालगायत कार्य हुने हुँदा यसलाई ऐतिहासिक महोत्सवका रुपमा लिइएको कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्म महास्थवीरले जानकारी दिनुभयो । संयोजक भिक्षु धम्मको नेतृत्वमा त्रिपिटक च्यान्टिङ आयोजक समितिसमेत गठन गरिएको छ ।
बुद्ध धर्ममा ज्ञान, ध्यान, धार्मिक, दर्शन, भिक्षुका आचार संहितासम्बन्धी विषयलाई अभिधर्म, सूत्र र विनय गरी तीन भागमा समावेश गरिएको छ । यी तीन भागलाई मूल ग्रन्थका रुपमा त्रिपिटक भनिन्छ । बौद्ध धर्मको पुरानो ग्रन्थका रुपमा त्रिपिटकलाई मानिएकाले पनि यसलाई सबै बौद्ध सम्प्रदायले स्वीकारेका छन् । यसमा शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि विभिन्न समयमा फरकफरक स्थानमा सर्वसाधरणलाई दिएको उपदेश तथा जीवनको अन्तिम समयसम्म दिएका प्रवचन सङ्कलन गरिएका छन् । उक्त ग्रन्थ पाली भाषामा लेखिएको छ भने अन्य केही भाषामा अनुवाद गरिएको छ । बुद्धकालीन समयमा बुद्धद्वारा दिइएका बुद्ध वचन तथा उपदेशलाई अनुयायीले एकै सूत्रमा सङ्कलन गरेपछि नै यस ग्रन्थलाई त्रिपिटक भनिएको हो ।
बौद्ध साहित्यका केही विषयवस्तुलाई सामूहिकरुपमा पाली भाषामा वाचन गरिने उक्त कार्यक्रमले देश÷विदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी धार्मिक पर्यटक अभिवृद्धि गर्ने विश्वास गरिएको छ । बौद्ध साहित्यमा सूत्रपिटकअन्तर्गत पर्ने प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । विनय पिटकमा भिक्षुले सामाजिक विकासका लागि के गर्नुपर्छ, के गर्नुहुँदैन भन्ने विषयकाबारे जानकारी दिइएको छ । अभिधर्म पिटकमा ज्ञान र ध्यानलाई व्यवस्थित गर्न शिक्षा दिइएको छ ।
समाजमा समग्र प्राणीप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक तथा सत्कर्मका लागि प्रेरित गरिएको बौद्ध शिक्षामा शान्ति कायम गर्न क्रोध, मोहलाई न्यूनीकरण गरी अहिंसाको वातावरण बनाउने उपायसमेत छन् । यस किसिमका सामूहिक वाचनले अनुयायीलाई सकारात्मक ऊर्जा प्रवाह गरी सत्मार्गमा लाग्न प्रेरित गर्ने हुँदा शान्तिपूर्ण वातावरण निर्माण भई सबैको कल्याण हुने विश्वास आयोजक समितिले गरेको छ ।
कार्यक्रमलाई भव्यताकासाथ सफल बनाउन काठमाडौँ महानगरपालिका, वाग्मती प्रदेशअन्तर्गत पर्यटन विकास आयोजना लगायतले सहयोग गर्ने जनाइएको छ । करिब दुई वर्ष अगाडि लुम्बिनीमा यसप्रकारको त्रिपिटक पाठ गरिएको थियो । सरकारले पर्यटन क्षेत्रको विकासका लागि एक वर्षमा २० लाख पर्यटक स्वदेश ल्याउने उद्देश्यले गत पुस १६ गते भ्रमण वर्ष घोषणा गरेको हो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…