१०८ फिट अग्लो व्यासमूर्ति बनाउन साढे तीन करोड संकलन
– कृष्ण न्यौपाने
दमौली– कूल १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब तीन करोड ५० लाख सङ्कलन भएको छ ।
व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट सुरु भएको महायज्ञबाट करिब साढे तीन करोड रकम सङ्कलन भएको हो । महायज्ञबाट अनुमान गरेबमोजिम नै रकम सङ्कलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । ‘आफ्नो ठाउँको विकासका लागि स्थानीयवासी नै जागरुक भएर लाग्नुपर्छ भन्ने लक्ष्य बोकेर महायज्ञ आयोजना गरेका थियौँ,’ श्रेष्ठले भने, ‘महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्व भएको महसुस भएको छ ।’
व्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउने उद्देश्यले सो मूर्ति बनाउन खोजिएको हो । मूर्ति बनाउन आवश्यक पर्ने तामाका लागि स्थानीयवासीको घर–घरमा पुग्ने अभियान सञ्चालन गरिनेछ । ‘पुराना तामाका सामग्री सङ्कलन गर्न घरदैलो अभियान सञ्चालन गरिनेछ, इट्टा व्यवसायी, ढुङ्गा व्यवसायीसँग पनि निर्माण सामग्री सहयोग माग गर्ने योजना रहेको छ,’ श्रेष्ठले भने ।
महायज्ञको सोमबार समापन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
व्यासमूर्ति निर्माणका लागि बनाइएको गुरुयोजनाअनुसार सबै संरचना बनाउन ६४ करोड खर्च हुनेछ । मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।
निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।
गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमाहरु र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।–रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…