सत्तरी प्रतिशत चिनियाँ पर्यटकको बुकिङ रद्द भइसक्यो : नाट्टा अध्यक्ष गुरागाई
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाई स्पष्ट बोल्छन् । कोरोना भाइरसका कारण नेपाली पर्यटन व्यवसायमा असर पर्न थालिसकेको छ । यद्यपी धेरै पर्यटन व्यवसायी यसमा खुलेर बोल्दैनन् । तर गुरागाईले कोरोना भाइरसले नेपाली पर्यटनमा पारेको प्रभाव, भ्रमण वर्षमा सरकारले गर्नुपर्ने काम तथा आफ्नो नेतृत्वमा नाट्टामा गर्न चाहेको कामहरूका बारेमा खुलेर हाइलाइट्स टुरिजमका लागि वेद गुरुङसँग कुराकानी गरेका छन् ।
नेपाल भ्रमण वर्षको सुरु भयो, तर अघिल्लो वर्षको तुलनामा पर्यटक घट्ने अवस्था आयो कसरी हेर्नु भएको छ?
अहिले नेपाल भ्रमण वर्ष २०२० चलिरहेको अवस्था हो । भ्रमण वर्षको सुरुवात भएको पनि करिब डेढ महिना भइसक्यो । अहिलेको अवस्था हेर्दा अलि सशङ्कित, अलि आत्तिएको र अलिकति स्तब्ध भएको अवस्था छ । ट्रेड ठ्याप्पै छ । चीनबाट चाईनिज् नयाँ वर्षमा आउने पर्यटकको सङ्ख्या घटेको अवस्था छ । नयाँ वर्षमा आउने चिनियाँहरू २५ देखि ३० हजारको हराहरीमा घटेको तथ्याङ्क छ । गत वर्षको जनवरी महिनाको तुलना गर्ने हो भने यो वर्षको जनवरीमा ५० प्रतिशत मात्रै पर्यटक आए । फेब्रुअरी, मार्च र अप्रिलको कुरा गर्ने हो भने धेरै जसो बुकिङ्हरु क्यान्सिल भएको अवस्था छ । अहिलेको अवस्था भनेको पर्खा र हेरको अवस्था हो । यो अवस्था कति समयसम्म रहन्छ भन्न सकिने अवस्था छैन । अहिले चीनमा कोरोना भाइरस बिस्तारै नियन्त्रण हुँदै जानुलाई भने राम्रो मान्नु पर्छ ।
कुन कुन देशका पर्यटकले बुकिङ क्यान्सिल गरेका छन्?
अहिले धेरै मुलुकबाट बुकिङ रोकिएको अवस्था हो । चीन, ताईवान, कोरिया, जापान, मलेसिया, युरोप र क्यानडाबाट पनि क्यान्सिलेसन आएको छ । कतिपय युरोपियनहरूले बुकिङ होल्ड गरेको अवस्था छ । करिब दुई हप्तालाई रोकेको अवस्था हो । जस्तो की ताइवानको सरकारले दुई हप्ताको सूचना निकालेर हङकङ, सिंगापुर र चीन जस्ता देशमा ट्राभल नगर्न भनेको छ । युरोपतिर भने जान खुल्ला छ ।
कति प्रतिशत बुकिङ क्यान्सिल भएको होला भन्न सकिने अवस्था छ?
अहिलेसम्मको अवस्था हेर्दा मार्च–अप्रिलका लागि चीनबाट आउने बुकिङ लगभग ७० प्रतिशत क्यान्सिल भएको छ । जस्तै, मेरो आफ्नै कम्पनी सी एन्ड स्काइ टुर्स एन्ड ट्राभल्समा हेर्ने हो भने ९ वटा समूहको बुकिङ रहेको थियो । अहिले त्यसमा तीन वटा मात्रै बाँकी छ । केही दिन अगाडि मात्रै नाट्टामा चाईनिज् टुरअपरेटरहरुसँग छलफल भएको थियो । उहाँहरूको भनाइमा पनि ७० प्रतिशत बुकिङ क्यान्सिल भएको भन्ने छ ।
यस्तो अवस्थामा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा होला त ?
पछिल्लो समयमा सरकारको ध्यान नदिएको अवस्था छ । जुन सरकारले सजिलैसँग गर्न सकिने कामहरू छन्, त्यो पनि नगरेको अवस्था छ । जस्तो, सजिलैसँग मर्मत सम्भार गर्न सकिने बाटोको मर्मत गरेको छैन । पूर्वाधारको विकासमा कुनै पनि योजना र काम भएको देखिँदैन । तुरुन्तै र सजिलै बनाउन सकिने पूर्वाधारको विकास गर्नमा सरकार कन्जुस्याइँ गरेको देखिन्छ । मर्मत गर्न सकिने सडकहरूको पनि गरिएको छैन । जस्तो, काठमाडौँ, गोकर्ण हुँदै नगरकोट जाने बाटो, भक्तपुर हुँदै नगरकोट जाने बाटो र भैरहवाबाट लुम्बिनी जाने बाटोको हालत हेर्ने हो भने बिजोग अवस्था छ । जबकि यो बाटो पिचको लागि अन्तिम् चरणमा पुगेर पनि ४/५ किलो मिटर पिच नगरी छाडेको छ । यसमा धुलोले हिँड्न सकिने अवस्था छैन । यसलाई तुरुन्तै गर्नुपर्ने अवस्था रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही सुधार भएको अवस्था छ । त्यो विमानस्थल सुधारेर मात्रै हुँदैन र पुग्दैन पनि । अरू एयरपोर्टहरूको पनि सुधार हुनु पर्ने जरुरी देख्छु ।
जहाँसम्म कोरोना भाइरसको विषय छ । यस सम्बन्धमा पनि सरकारी तवरबाट राम्रो व्यवस्था गरेको अवस्था छैन । स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय र पर्यटन विभागले एयरपोर्टमा जुन कोरेन्टइनका लागि मेसिन राख्नु पर्ने, चेकजाँच गर्नुपर्ने, चेकिङ कडा गर्नुपर्ने त्यो प्रभावकारी देखिएको छैन ।
कोरोना भाइरसको चेक गर्न र नियन्त्रण गर्नको लागि एयरपोर्टमा कडाइ हुनुपर्छ । हाम्रोमा रोग भित्री सकेको अवस्था छैन । सरकारी निकायको लापरबाहीले त्यहाँबाट कोरोना भाइरस भित्रियो भने यो भयावहको स्थिति हुन सक्छ । यसैले सरकारी निकायले विशेष गरी एयरपोर्टका अधिकारीहरूले विशेष सतर्कता अपनाउनु पर्छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई नाट्टाले चाहिँ कसरी सघाउँछ ?
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि हाम्रोतर्फबाट पूर्ण सहयोग हुन्छ र गरिरहेका छौँ । यसमा नाट्टाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गरिरहेका छौँ । सरकारी तहबाट पनि त्यही अनुरूप काम हुनुपर्यो । निजी क्षेत्रलाई सहुलियत पनि दिनु पर्यो । सरकारले पनि केही प्याकेजको व्यवस्था गर्नुपर्ने हुन्छ । हामीले भ्रमण वर्ष भरि भिसा फ्री गर्नु पर्यो भनेका छौँ । भिसा फ्री गरियो भने पर्यटकहरू आउने क्रम बढ्नेछ । यसले एउटा माहौल बनाउनेछ । नाट्टाको तर्फबाट यसमा पूर्ण सहयोग गरिरहेका छौँ ।
अध्यक्ष निर्वाचित भएर आउनु भयो, नाट्टालाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ?
पहिलो कुरा, नाट्टाको विकास र उन्नति गर्नु नै हो । नाट्टाको निर्वाचनको समयमा तीन वटा समूहबाट आएका प्रतिबद्धता–पत्र अन्तर्गत नै रहेर काम गर्नेछु । ती समूहले घोषणा गरेका प्रतिवद्धताहरु एकै ठाउँमा मिलाएर संयुक्त रूप दिएर त्यसलाई मार्ग दर्शन अर्थात् निर्देशिकाको रूपमा लिनेछु । कतिपय कुराहरू मिल्ने भएकाले त्यसलाई हटाएर राम्रा पक्षलाई मात्रै समेट्ने छु ।
नाट्टाको अध्यक्ष भएपछि समय कसरी मिलाउनु भएको छ ?
नाट्टाको सदस्य हुँदा आफ्नो व्यवसायमा धेरै समय खर्चिन पाइन्थ्यो भने अहिले त्यो फरक भएको छ । अध्यक्ष भएको नाताले प्रत्येक दिन नाट्टामा आइरहेको छु । नाट्टाको सचिवालयको सुधार देखि लिएर रेनोभेसनको सबै काम गरी रहेका छौँ । अबको तीन महिना पछि नाट्टाको भवनको स्वरूप तलदेखि माथिसम्म पुरै फरक हुनेछ । हामीले करिब १५ लाख रुपैयाँ व्यक्तिगत रूपमा बोर्डका सदस्य र चिनजानका व्यक्तिहरूको सहयोगमा भवनको निर्माण गर्दैछौं । स्वयंसेवी भावका साथमा काम गरी रहेका छौँ । सबैको चाहना अनुरूप काम गर्न लागि रहेका हौँ । त्यसैमा अलि व्यस्त भइएको छ ।
नाट्टामा के के गर्ने योजना छ, बुँदागत रूपमा बताइदिनुस् न ।
पहिलो त नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनमा नाट्टा केन्द्रित रहन्छ । दोस्रो, नाट्टालाई अलि तन्दुरुस्त गरेर नाट्टाको भवन तलदेखि माथिसम्मको सम्पूर्ण संरचना परिवर्तन गर्नको लागि उपायहरू खोजी रहेका छौँ । आउँदो तीन महिनाभित्रमा त्यो कार्य सम्पन्न गर्छौं ।
तेस्रो, सदस्यहरूलाई दिने सुविधालाई चुस्त र दुरुस्त बनाउँछौँ । सदस्य कम्पनीहरूको सहज पहुँचका लागि नाट्टालाई थप व्यवस्थित गर्छौँ । नाट्टाको सदस्यहरूको आपतकालिन राहतको लागि राहत कोष स्थापन गर्ने, बर्सेनि एउटा कार्यक्रम गर्ने योजना रहेको छ जसले गर्दा नेपालको पर्यटकीय क्षेत्रलाई विश्व सामु चिनाउन सजिलो होस्, नाट्टालाई आर्थिक रूपले सहयोग पनि पुगोस् ।
बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट गर्दैछौं । सन् २०१९ बाट सुरु गरिएको पहिलो एडिसन सफल भएपछि यो वर्ष बुद्ध पूर्णिमा दिन अर्थात् मे ७ तारिखमा उद्घाटन गर्ने गरी गर्दै छौँ । त्यो बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टलाई निरन्तर गर्ने र तेस्रो एडिसनसम्म पुग्दा अन्तर्राष्ट्रिय तहको बनाउने योजना रहेको छ ।
अन्तर्राष्ट्रिय एयरलाईन्सका सिईओहरुलाई नेपालमा ल्याएर सम्मेलन गर्ने, सार्क तथा विमस्टेक मुलुकहरुको टुर अपरेटर, मिडिया बोलाएर ट्राभल फेयर गर्ने, सेमिनार गर्ने, चीन र भारतको टुर अपरेटरहरू र मिडियाकर्मीहरु बोलाएर ईभेन्ट गर्ने लगायतका योजनाहरू छन् । चीनमा कोरोना भाइरस नियन्त्रण हुने बित्तिकै चीन र भारतमा पर्यटन बोर्डसँग मिलेर सेल्स मिसनहरू पठाउने छौँ ।
अन्तमा केही भन्नु छ कि ?
अहिले नै हामी अतालिनु पर्ने अवस्था छैन । सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ । नेपालको पर्यटन क्षेत्रको विकास साँच्ची नै गर्ने हो भने सरकारी निकायले प्राइभेटले भनेको कुरा पनि सुन्नु पर्छ । पर्यटनलाई उद्योगको रूपमा स्थापित गर्नु पर्यो, जसरी कृषि क्षेत्रमा गरिएको छ । पर्यटन क्षेत्रमा पनि सहुलियतको व्यवस्था गर्नु पर्यो । पर्यटन क्षेत्रबाट ट्याक्स तिरेका मान्छेहरूलाई हौसला दिनुका साथै सहुलियतको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । सरकारलाई ट्याक्स मात्र तिर्ने, सहुलियत दिएन भने त्यो अलि मिल्दैन । नेपाल भ्रमण वर्षको लागि पर्यटन मन्त्रलयले गाडी ल्याउने सुविधा पर्यटन व्यवसायीहरूलाई दिनुपर्ने हुन्छ । करमा छुट दिनुपर्ने हुन्छ । बैङ्कको लोनमा सहुलियत हुनुपर्यो । अहिले पनि पर्यटन व्यवसायीहरू बैङ्कको लोन तिर्न सक्ने अवस्थामा देखिँदैन । सरकारले यस विषयमा केही सोच्नु पर्ने हुन्छ । प्याकेज दिनु पर्यो । व्यवसायी हतोत्साहित भएर नभागुन् र व्यवसायमा निरन्तर रहुन् भन्नको लागि सरकारले सकारात्मक सन्देश, हौसला र प्रोत्साहन दिनुपर्ने हुन्छ ।
यो पनि : कोरोना भाइरसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा, घट्यो पर्यटक
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…