February 13, 2020

नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालीन बस चल्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो ।

सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुना पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो ।

बैठकमा कामपाका प्रमुख शाक्यले नयाँ वर्षको सुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि सेवा बन्द भएको थियो ।

प्रमुख शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालीन सेवा दिने गरी योजना बनाएर तयार रहन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे ।

बैठकमा पहिलो चरणमा रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरू तथा ललितपुर र भक्तपुरमा समेत सेवा पुर्‌याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । सुरुमा कम्तीमा पनि ६० बस दैनिक सञ्चालन गर्न सकिने जनाइएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालीन गर्ने कुराको सुनिश्चित महासंघले गर्नुपर्नेमा जोड दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए । महानगरका सहरी सु–व्यवस्था विभागका प्रमुख हरि कुँवरले पनि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…