February 14, 2020

गोक्यो तालमा आइस स्केटिङ र हक्की

काठमाडौँ । सगरमाथा क्षेत्रको गोक्यो लेकमा शुक्रवार आइस हक्की र आइस स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । गोक्यो लेक ४७९० मिटर उचाइमा रहेको छ ।

नेपाल भ्रमण वर्ष २०२० ले आयोजना गरेको उक्त प्रतियोगितामा अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरूको सहभागिता थियो ।

भ्रमण वर्ष सचिवालयले पठाएको प्रेस नोट अनुसार नयाँ पर्यटकीय उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा यो प्रतियोगिता सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेपालस्थित फ्रान्सेली राजदूत फंस्वा जाभिए लेजे, फिनल्यान्डका राजदूत पेर्ति आन्तिनेन्, वर्ल्ड बैङ्कका कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्वोस, टर्कीस् एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टुनकरको समेत सहभागिता रहेको जनाइएको छ ।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमासमेत नेपालमा पर्यटकहरूलाई भित्र्याउनका लागि यो खेल महत्त्वपूर्ण हुने नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिए ।

विश्वभरि खुला तालमा हुने यस्ता प्रतियोगिताहरू प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठुलो सम्भावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार यो खेल आयोजना गरिएको उनको भनाई थियो ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो तालमा पानी जमेर यस बेला आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रूपमा रूपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरूले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका लागि उपयुक्त भएको निष्कर्ष निकालिएको थियो ।

गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…