एकै वडामा तीन ‘हेलिप्याड ’!
गलकोट– जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा तीन हेलिप्याड निर्माण गरिएको छ । आकस्मिक उद्धार तथा विदेशी पर्यटकलाई घरवासमा ल्याउन वडा भित्रका तीन स्थानमा हेलिप्याड निर्माण गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । उनका अनुसार गाउँपालिकाले ‘एक वडा, एक हेलिप्याड’ नीति लिएको छ । यहाँ एउटै वडामा तीन हेलिप्याड निर्माण गरिएको छ ।
‘साबिक रेश ठूलो वडा भएको र एकै वडामा चारवटा सामुदायिक घरवास सञ्चालनमा रहेका कारण उद्धारमात्र नभएर विदेशी पर्यटक भित्र्याउनका लागि पनि हेलिप्याड निर्माण गरेका हौँ,’ अध्यक्ष लामछिानेले भने, ‘दुईवटा निर्माण सम्पन्न भइसकेको छ । एक निर्माणको अन्तिम चरणमा छ ।’
रेशको झाँक्रीस्थानमा गाउँपालिकाको दुई लाखको लागत र सुराजामा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको एक लाख ५० हजारमा हेलिप्याड निर्माण सम्पन्न भएको छ । यसैगरी वडा कार्यालय नजीकै गाउँपालिकाकै तीन लाखको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको जनाइएको छ ।
वडा कार्यालयले साबिक रेश गाविसका प्रत्येक दुई वडालाई केन्द्रित गरेर एक हेलिप्याड बनाउने योजना रहेको जनाएको छ । ९ वडा नै लाभान्वित हुने गरी रेशको बौरमा हेलिप्याडका लागि जग्गा तय गरिएको छ ।
गाउँपालिकाले अन्य वडामा समेत हेलिप्याड बनाउने अभियानलाई तीव्र गति दिएको छ । एक वर्षभित्र गाउँपालिकाका सबै वडामा हेलिप्याड बनाउने अभियान चलाइएको काठेखोला गाउँपालिकाले जनाएको छ ।
आठवटै वडामा हेलिप्याड बनाउनका जग्गा छनोट गरी गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले जानकारी दिए ।
स्वास्थ्य केन्द्र, वडा कार्यालय आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गर्दै आएको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ सुरु गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।
दुर्गम वडाको एक बस्तीबाट अर्कोमा पुग्न धेरै समय लाग्ने भएकाले एउटै वडामा तीनवटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने अपेक्षा गरिएको छ । जिल्लाका अन्य स्थानीय तहले हेलिप्याड निर्माणका लागि आवश्यक सार्वजनिक जग्गाको खोजी गरिरहेका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…