February 18, 2020

बागलुङमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला, १० देशका १५ मूर्तिकार सहभागी

गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी विदेशी मूर्तिकारलाई स्वागत गर्दै स्थानीयवासी । १७ दिनसम्म चल्ने कार्यशालामा पाँच नेपाली र १० विदेशीसहित १५ मूर्तिकारको सहभागिता छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले गलकोट कला प्रतिष्ठानले कार्यशाला आयोजना गरेको हो । तस्बिर : रामबहादुर थापा/रासस

बागलुङ– गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राखे । ‘दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा नहुने प्रचार उहाँहरुले गरिदिनुहुन्छ,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘पर्यटन प्रवर्द्धनका हिसाबले पनि मूर्तिकला कार्यशालाको महत्व छ ।’

विश्व प्रसिद्ध मूर्तिकारका कलाकृति सङ्ग्रहित गर्न पाउनु गलकोटको मात्रै नभई देशकै गौरवको विषय भएको उनको भनाइ छ । सङ्घीय व्यवस्थाकै कारण भौगोलिक हिसाबले विकट गाउँहरुमा विकास गतिविधि र सचेतनाको लहर बढेको मुख्यमन्त्री गुरुङले बताए । उनले जनताको हित र मुलुकको समृद्धिका लागि सङ्घीय व्यवस्था ल्याइएको धारणा राखे ।

उनले आउँदो तीन वर्षभित्र गण्डकी प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । यही फागनु २१ गतेसम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा छन् ।

अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए। उनका अनुसार कलाकारले आजदेखि कलाकृति बनाउन सुरु गर्नेछन् ।

अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिएका छन् ।

यस्तै जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिन ली जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेले कार्यशालामा सहभागी छन् ।


गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी क्यानाडाकी मूर्तिकार जुली ग्ल्यास्पी आफूले मूर्ति कुँद्ने ढुङ्गामा । 

कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको थियो ।

कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कुँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै दुई करोड ३० लाख नाघ्ने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । चालू आवमा गण्डकी प्रदेश सरकारले ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ ।

यस्तै व्यक्तिगतरूपमा सहयोग जुट्ने क्रम पनि जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…