February 24, 2020

यलुङमा छेच्यु सांस्कृतिक महोत्सव फागुन २० बाट

काठमाडौं– दोलखाको पर्यटकीय नगरी जिरी–२ स्थित यलुङमा ‘छेच्यु सांस्कृतिक महोत्सव २०७६’ हुने भएको छ । भ्रमण बर्ष २०२० तथा शेर्पाहरुको महाड चाड छेच्युलाई प्रचार प्रसार गर्ने उद्देश्यले आउँदो फागुनको २० देखि २२ सम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

जिरी नगरपालिका र वडा नम्बर २ कार्यालय मुख्य आयोजक, युवा सञ्जाल जिरी, सर्वखासा गुम्बा गुठी, चेर्दुङ युवा क्लव, बौद्धभुवनेश्वरी मावि सहआयोजकको रुपमा रहेका युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले बताए ।

जिरी बजार नजिकका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमा हाइकिङ, जिप सफारी र साइक्लिङका लागि निरन्तर पर्यटक आउने वातावरण बनाउन महोत्सवले सहयोग गर्ने आयोजकको दाबी छ ।

दोलखा र रामेछापका विभिन्न स्थानबाट समेत छेच्यु पर्व अवलोकनका लागि यलुङ आउने गरेका छन् । महोत्सवमा स्थानीय भेषभुषासहित सांस्कृतिक झाकी, तालिम प्राप्त लामाहरुद्वारा धार्मिक तथा पौराणिक क्षाम नाच, छेक्युर नाच, मौलिक खाना तथा स्थानीय खाद्यपरिकार, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगितिक प्रस्तुति तथा विभिन्न खेलकुद, स्थानीय उत्पादनहरु चिज, चिया, सिल्मा, रिल्दुक, ट्राउट माछा लगायतका अन्य खानाका परिकार राखिने जनाइएको छ ।

करिब ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने महोत्सवमा १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री पार्वत गुरुङबाट गर्ने तयारी छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…