March 1, 2020

प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर– २०२० अन्तर्गतको ‘१९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ मा गतआइतबार पोखराको सराङ्कोटबाट प्याराग्लाइडिङ गर्दै प्रतियोगी । तस्बिरः राधिका कँडेल/रासस

कास्की– पोखरामा शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ ।

क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीमा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहेका थिए । त्यसैगरी कोरियाले ४८ अङ्कसहित द्धितीय र ४५ अङ्क ल्याएर जर्मनीको टोली तेस्रो भएको छ ।

फागुन ११ गतेदेखि पोखरामा शुरु भई शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९ औँ संस्करणको ‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ मा महिला एकलतर्फ उपाधि विजेता खेलाडी सामूहिक तस्बिरमा । तस्बिर : कृष्ण दवाडी/रासस

 

पुरुष एकलतर्फको उपाधि भने कोरियाले जितेको छ । कोरियाका जङमेन चोइले दुई हजार २२० अङ्कसहित उपाधि जिते भने नेपालका विशाल थापाले दुई हजार १४७ अङ्कसहित द्वितीय तथा कोरियाका चियोङ हाले दुई हजार १३० अङ्कसहित तेस्रो हुन सफल भए ।

महिला एकलतर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिकले उपाधि जित्दा कोरियाका याना ली द्वितीय तथा स्वीटजरल्याण्डका सुसन स्टोफर तेस्रो भइन्। नेपाल खुला १९औँ च्याम्पियनसीपअन्तर्गत विशाल थापाले उपाधि जित्न सफल भए। विजय गौतम द्वितीय र आशिष थापा तेस्रो हुन सफल भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । सुरज थापा चौथो र युकेश गुरुङ पाँचौँ स्थानमा रहे।

विजेता खेलाडीको टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण गुरुङलगायतले मेडल, प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए । यही फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगितामा २० देशका ९२ खेलाडी सहभागी थिए ।

यस प्रतियोगिता तथा इन्डोनेसिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक योगेश भट्टराईले जानकारी दिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…